पोखरा महानगरको महेन्द्रपुलमा पहिला सार्वजनिक पुस्तकालय रहेको स्थानमा झन्डा पार्क बनाइएको छ । सार्वजनिक पुस्तकालय, पत्रिका पसलसहित अन्य व्यापारिक फार्म रहेको भवन पुरानो र अनुपयुक्त भएपछि त्यसलाई भत्काएर पार्क बनाइएको हो ।
महेन्द्रपुलकै पहिले आर्ट ग्यालरी रहेको साइडमा सार्वजनिक शौचालय बनाइएको छ । अहिले त्यहाँका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी नयाँबजारको क्षेत्री समाजको भवनमा सञ्चालित छन् । महानगरले चाडै पुस्तकालय, आर्ट ग्यालरीसहितको पोखरा घर बनाउँदै छ ।
करिब १० करोड लागतमा पोखरा–९, पृथ्वीचोकको पहिले ट्राफिक पोस्ट रहेको स्थानमा आर्ट ग्यालरी, पुस्तकालय, घन्टाघर, सूचना पार्कसहितको पोखरा भवन बनाइने महानगरका मेयर धनराज आचार्य बताउँछन् ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई, जे, के, एल र एमको सहयोगमा करिब ७० लाख लागतमा बनेको पार्क सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरका मेयर आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरे ।
अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगरका मेयर आचार्यलाई झण्डा पार्कको साँचो हस्तान्तरण गरे । सोमबारबाट पार्कको स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ ।
मेयर आचार्यले पोखराको विकासका लागि सहकार्य गर्न सबै संघ, संस्थालाई आह्वान गरे । महानगर एक्लैको प्रयासले विकास सम्भव नभएको भन्दै उनले विभिन्न साझेदारसँग सहकार्य र विभिन्न तहका सरकारसँग हातेमालो गर्दै अघि बढ्न चाहेको उनले सुनाए ।
झण्डा पार्कसँगै पत्रपत्रिका कर्नर एवं डिजिटल सूचना केन्द्र पनि राखिएका छन् । “पार्कले विश्वभरबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा गरेका छौँ, पत्रपत्रिका, इन्टरनेट पहुँचसमेत दिएर यसलाई सिकाइ केन्द्रको रुपमा विकास गर्ने छौँ,” मेयर आचार्य भन्छन् ।
पार्कमा संयुक्त राष्ट्र संघमा आबद्ध १ सय ९५ देशका झन्डासँगै पोखरा महानगरपालिका, लायन्स क्लब र एनआरएनएका गरी १ सय ९८ झन्डा छन् । पार्कको अघिल्लो भागमा नेपालको ठूलो आधारको राष्ट्रिय झन्डा राखिएको छ । विभिन्न समारोहहरुमा झन्डोत्तोलनका लागि प्रयोग गर्न मिल्ने गरी राष्ट्रिय झन्डा राखिएको छ ।