
जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालको मधेस क्षेत्र उपेक्षा, उत्पीडन र खेलाँचीका कारण सधै पछि परेको टिप्पणी गर्नुभएको छ । समथर भूमी, पूर्व पश्चिम राजमार्ग, भारतीय सीमामा पहुँच जस्ता भौगोलिक अनुकूलता भए पनि मधेस क्षेत्र कर्णालीभन्दा पिछडिएको उहाँको दाबी छ ।
नेपाल लिटरेचर फेस्टिभलमा आइतबार आयोजित ‘मधेश मन्थन’ कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णाली विकसित हुनुपर्छ, त्यसमा दुविधा छैन तर मधेशको साक्षरता, समाजको चेतना कर्णालीभन्दा पनि पछि छ ।” क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरी अमेरिकाको नासामा वरिष्ठ वैज्ञानिकको सेवा छाडेर नेपाल फर्किनुभएका राउतले गाउँका केही चल्तापुर्जाले आफ्नो फिर्तीलाई नरुचाएको उल्लेख गर्नुभयो ।
“अब काठमाडौँ बसे हुन्छ, गाउँमा के छ र भन्नेहरु थिए । हामी जस्ता मान्छे गाउँमा बसे उनीहरुको मनोमानी चल्दन भन्ने डर थियो,” राउत भन्नुहुन्छ, “पढेलेखेकालाई राजनीतिमा जानै हुन्न भनेपछि उनीहरु कि सहर जान्छन्, कि विदेश । सधैँ आफ्नो रजाइँ चल्छ भन्ने ठान्नेहरु छन् ।”
प्रतिनिनिधिसभा सदस्यसमेत रहनुभएका राउतले समृद्ध देशमा आर्थिक उन्नतिका बाटा भए पनि सुखी नभएको टिप्पणी गर्नुभयो । मधेश क्षेत्रको पूर्वदेखि पश्चिमसम्म घुमेर जनजीवन बुझ्दा कसै न कसैले परिवर्तनका लागि प्रयास गर्नैपर्छ भन्ने ठानेर नासाबाट फर्र्किएको उहाँको भनाइ छ ।
सरकारमा सहभागिताको एक वर्ष आफू र आफ्नो पार्टीका लागि सिकाइ भएको उल्लेख गर्दै अध्यक्ष सिकेले गुण र दोषका आधारमा चलिरहेको दाबी गर्नुभयो । “हामी गठबन्धनमा छौँ तर नराम्रो गर्दा विरोध गरेको छु । गलत नीतिलाई गलत नै भनेको छु । सरकारमा जाँदा केही न केही गर्ने मौका भने पाएका छौँ,” उहाँ भन्नुहुन्छ ।