विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले पोखरामा आइतबार ‘लेनिन स्मृति शतवार्षिकी’ पोखरा संयोजन समिति गठन भएको छ।
मार्क्सवादी लेखक तथा बौद्धिक रामराज रेग्मीको संयोजकत्वमा पोखरा संयोजन समिति गठन गरिएको हो।
यसअघि काठमाडौंमा मूल आयोजक समिति गठन गरिएको थियो। मूल आयोजक समितिलाई अरू सहर र प्रदेशमा पनि विस्तार गरिने र यसमार्फत् वर्ष २०२४ भरि विभिन्न सहरमा कार्यक्रमहरु आयोजना गरिनेछ।
शतवार्षिकी समितिले विभिन्न प्रदेश तथा सहरमा सम्भव भएसम्म संयोजन समिति निर्माण गर्ने र आश्यकताअनुसार विभिन्न विभाग बनाएर एक वर्षभरि कार्यक्रम गर्ने छ ।
पोखरा संयोजन समितिले आगामी चैत २४ गते पोखरामा “नेपालमा लेनिनवादको सान्दर्भिकता” विषयक विचारगोष्ठी गर्ने निर्णय गरेको छ।
मूल समितिले पनि समाजवादी क्रान्तिमा र मार्क्सवादको विकासमा लेनिनका योगदानबारे र लेनिनवादको सान्दर्भिकताबारे विचारगोष्ठी तथा वैचारिक बहसहरु आयोजना गर्ने, लेनिनका महत्त्वपूर्ण रचनाहरुको पुनस् प्रकाशन गर्ने, विभिन्न सहरमा सांस्कृतिक प्रकृतिका सभा र कलात्मक प्रदर्शनीहरु गर्ने र लेनिनबारे स्मारिका तयार गर्ने योजना बनाएको छ।
लेनिन रुसमा सन् १९१७ सम्पन्न भएको समाजवादी क्रान्तिका नायक तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक लेनिन मार्क्सवादी धाराका दार्शनिक, क्रान्तिकारी सिद्धान्तकार र मजदुरवर्गीय आन्दोलनका अगुवाका रुपमा प्रख्यात छन् । उनी कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तलाई रुसमा क्रान्ति सम्पन्न गरी व्यवहारद्वारा सिद्ध गर्ने र संसारमा समाजवाद सम्भव छ भन्ने सन्देश फैलाउने नेता हुन्।
लेनिनको जन्म सन् १८७० अप्रिल २२ मा भएको हो । उनको मृत्यु सन् १९२४ जनवरी २१ मा भयो । सन् २०२४ मा उनको मृत्यु भएको १०० वर्ष पूरा भएको छ । संसारभरिका कम्युनिस्टहरुले यो वर्षलाई लेनिनको स्मृतिको शताब्दी वर्षका रुपमा मनाइरहेका छन् ।
शतवार्षिकी समितिले लेनिनको मृत्यु भएको दिन जनवरी २१ (माघ ७) मा आफ्नो पहिलो कार्यक्रम काठमाडौंमा गरिसकेको छ भने दोस्रो कार्यक्रम ८ मार्चका अवसरमा “महिला मुक्तिका सन्दर्भमा लेनिन” विषयमा कार्यक्रम गर्दै छ।