उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट सम्मानित भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३ सय ३३ रुपियाँ तथा ताम्रपत्रसहित पुरस्कृत गरिएको हो ।

अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’, मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य लगायतले उनलाई पुरस्कार प्रदान गरे । कलाबार बरालले उषा बहुमुखी प्रतिभा सम्पन्न भएको सुनाए । उनले आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषाले उपाध्यक्ष भएर देखाएको सक्रियता सधैँ निकै प्रशंसनीय भएको स्मरण गरे ।

प्रतिभा छनोट समिति संयोजक साहित्यकार सरुभक्तले शेरचनको निरन्तर साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए । लेखनका अलावा अभिनयमा समेत दखल राख्ने उषाले आफ्नो पहिलो नाटकमा अभिनयको सरुभक्तले सम्झिए ।

प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले उषालाई आख्यानकार, मुक्तककार र गीतकारका रूपमा चिनाए । शेरचनको लोभलाग्दो सक्रियता सबैका लागि प्रेरणा बन्दै आएको उल्लेख गरे ।

शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ । उनका ५ साङ्गीतिक एल्बम र आधा दर्जन अरु कृतिसमेत बजारमा आएका थिए ।

मुक्तककार शेरचनले पुरस्कारले एकातिर खुसी र अर्कोतिर जिम्मेवारीको सँगसँगै दिने अनुभव सुनाइन् । पोखराले छुट्टै अपनत्व र आत्मीयता दिने उनको भनाइ छ ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कारका संस्थापक विष्णु अल्पविराम, साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, मञ्चकी कार्यवाहक महासचिव अम्बिका ओझा लगायतले बोलेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल, साहित्यकार गौरी तमु लगायतले १ सय ८९ औँ नियमित कार्यक्रम अन्तर्गत मुक्तक सुनाएका थिए ।

हरेक २ वर्षमा प्रदान गरिने यो पुरस्कार यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, सरुभक्त, तेजनाथ घिमिरे र चेतन कार्कीलाई प्रदान गरिसकिएको छ ।