गोर्खा वरियर्सः गोर्खालीको जंगल वारको कथा

पोखरा आएर गोर्खा वारियर्स टिमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए ।

फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा आएका उनले पोखरा आफैंमा लाहुरेहरुको सहर भएको उल्लेख गरे । ‘पोखरामा आफैंमा लाहुरेहरुको सहर हो । यहाँ धेरै ब्रिटिस आर्मीमा काम गरेका वीर गोर्खालीहरु हुनुहुन्छ । गोर्खालीसँग पोखरा अनविज्ञ छैन,’ उनले भने ।

नेपालीलाई चिनाउने ३ विषय सगरमाथा, गौतम बुद्ध र गोर्खाली भएको उनले बताए । करिब ३ वर्ष लगाएर सिनेमा निर्माण भएको उनको भनाइ छ । ‘नेपाली विदेशिन चाहदैनन् तर अहिले दिनप्रतिदिन देश खाली भइरहेको छ । यो सबै कसरी भयो । यस्ता विषयहरुसमेत सिनेमा मार्फत सन्देशको रुपमा पाइनेछ,’ उनले भने ।

हँसिया, वीरविक्रम, लिलिबिली, बबी जस्ता सिनेमा निर्माण गरिसकेका चाम्सको लडाईंमा आधारित रहेर सिनेमा निर्माण गर्ने योजना पहिलेदेखिको नै हो । उसो त उनी आफैं पनि रिटायर्ड ब्रिटिस आर्मी हुन् ।

गोरखाज नेपालीको ब्रान्ड भएकाले अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचारप्रसार गर्ने हेतुले सिनेमा निर्माण गरिएको भनाइ उनको छ । गोर्खा वारियर्समा १९४९ वरिपरिको कथा समेटिएको छ । जति बेला गोरखालीले जंगल वार गरेका थिए ।

नायिका रेविका गुरुङले इतिहास जोगाउने सिनेमामा काम गर्न पाउँदा खुसी लागेको बताइन् । सिनेमामा वारसँगै परिवारको कथा व्यथा पनि समेटिएको उनको भनाइ छ । ७० वर्ष अगाडिको कथामा आफू जोडिन पाउँदा हर्षित छिन् । सिनेमाको छायांकन सिन्धुली, सोलुखुम्बु र काठमाडौंमा गरिएको हो ।

नायक रितेश चाम्सले गोर्खालीहरुको २०९ वर्षको इतिहासमा सयौं कथाको एउटा कथा गोर्खा वारियर्स भएको उल्लेख गरे । सिनेमाबाट उनी आशावादी देखिन्छन् । मिडिया सल्लाहकारको भूमिकामा रहेका डब्बु क्षेत्रीले चलचित्र पत्रकार संघको विस्तारले नेपाली सिनेमाको प्रवद्र्धनमा टेवा पुगेको बताए ।

उनले गोर्खा वारियर्स गोर्खालीलाई चिनाउने कथा भएको बताए । कथा हाम्रो र व्यथा पुर्खाको समेटेर सिनेमा निर्माण गरिएको भनाइ उनको छ । सिनेमा युनिटले पोखरामा फागुन ७ गते प्रिमियर शो गर्ने योजना बनाएको छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआई प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाका निर्माता सुमन राई र सुस्मिता बाइवा हुन् । सिनेमामा रितेश र रेविका सँगै विजय लामा, कविता आले, रियर राई, बिरुप घले, सारा राई लगायतको अभिनय छ । सिनेमाको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका हुन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।