कावासोतीमा चरा उत्सव सुरु

पूर्वी नवलपरासीको कावासोती १३ नवलपुरमा शुक्रबारबाट दोस्रो नेपाल चरा उत्सव सुरु भएको छ । पोखरा पक्षी समाजले आयोजना गरेको उत्सवको सहआयोजकमा कावासोतीको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटी छन्

कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले कार्यक्रमका अध्यक्ष पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई पेनड्राइभ प्रदान गरी कार्यक्रम सुरुआत गरिन् । यो उत्सवमा प्लास्टिकको प्रयोग भएको छैन भने स्टलहरु पनि प्राकृतिमैत्री खालका छन् ।


उपमेयर थनेतले चरा संरक्षणका लागि वृक्षारोपणसँगसँगै सचेतना फैलाउनुपर्नेमा जोड दिइन् । उनले कावासोती नगरपालिका पक्षी संरक्षणका प्रयासमा सधैं साथमा रहने विश्वाससमेत दिलाइन् । वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले उत्सवले देशैभर चरासँगसँगै पर्यापर्यटन संरक्षणको सन्देश दिने विचार राखे ।


पक्षी विद् डा हेमसागर बरालले मानव समाजका लागि चारहरुको बहुआयामिक महत्व भएको तर्क गरे । सांस्कृतिक हिसाबले पनि नेपाली समाजमा चराको महत्व रहेको तर्क प्रस्तुत गर्दै उनले परम्परागत चाडपर्व र सामाजिक मूल्य, मान्यताले पनि संरक्षणमा योगदान गरेको सुनाए ।


जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति अध्यक्ष डिबी चौधरीले जैविक विविधता र पर्यापर्यटनको प्रचूर सम्भावना रहेको कावासोतीमा भएको महोत्सवले चरा संरक्षण र पर्यटन प्रवर्धन विशेष भूमिका निर्वाह गर्ने उल्लेख गरे । ‘नेपालमा प्रकृतिमा आधारित पर्यापर्यटनको ठूलो सम्भावना छ,’ उनी भन्छन् ।


समारोहमा टेकबहादुर गुरुङको पुस्तक ‘फिल्ड गाइडः बटरफ्लाइज अफ चितवन’ सार्वजनिकसमेत गरियो । विश्वका दुर्लभ प्रजाति समेटिएको पोस्टर पनि कार्यक्रममा सार्वजनिक गरियो । कार्यक्रममा कावासोती १३ का वडाध्यक्ष लालबहादुर गुरुङले चरासहित जीवजन्तुको संरक्षणमा यो क्षेत्रका बासिन्दालाई अझ सचेत बनाउन कार्यक्रमले योगदान गर्ने अपेक्षा गरे ।


पंक्षी संरक्षण संघ नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र गुरुङले नेपालमा पाइने दुर्लभ खालका पक्षीको संरक्षणमा सबै सरोकारवालाबीच हातेमालो आवश्यक हुने औंल्याए । दोस्रो नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले बर्सेनि उत्सव गर्नुपर्ने भए पनि कोभिडका कारण रोकिएकोमा यस वर्षदेखि निरन्तरता दिइने प्रतिवद्धता गरे ।
यो उत्सव साढे ४ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नेपालमा ८ सय ९४ प्रजातिका पक्षी पाइने बताइन्छ । नेपालमा विश्वमै दुर्लभ मानिएका ४२ प्रजातिका चरा पाइने गरेकोमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपासमै विश्वमै दुर्लभ मानिएका ३१ प्रजातिका चरा पाइने जानकारहरु बताउँछन् ।