रविविरुद्धको जाहेरी कास्की प्रहरीमा पुग्यो

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी दिएका छन् ।

जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, नेत्रपाणि बास्तोला लगायतको समेत नाम छ । जाहेरी प्राप्त भएको र अध्ययनको क्रममा रहेको प्रहरी स्रोतले जनाएको छ ।

सूर्यदर्शनको एक करोड रुपैयाँ सभापति लामिछानेको खातामा जम्मा भएको पोखरा महानगरको प्रतिवेदनमा उल्लेख छ भने लामिछाने प्रबन्ध निर्देशक हुँदा ग्यालेक्सी फोरके टेलिजिभनको सञ्चालक कम्पनीले सूर्यदर्शनको १६ करोड रकम लिएको थियो ।

यो सहकारीको मुद्दा अदालतमा विचाराधीन छ । यसअघि पनि पीडितले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै दर्ता गरेको थिएन । सूर्यदर्शन सहकारीका अध्यक्षसहित तीन जनाबिरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो ।

सूर्यदर्शन काण्डमा १९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता दायर भएकोमा चार जना पक्राउ परेका छन् भने बाँकी १५ जना फरार छन् । सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ ।

यही सहकारी ठगीमा राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिवसमेत रहेका व्यवसायी शिवबहादुर गुरुङ (महेन्द्र भोटे)समेत पुर्पक्षका लागि थुनामा छन् ।