पोखराको रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भएको छ । सो अवसरमा मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ सहयोग र शिक्षासेवी पवित्रमणि पौड्याललाई सम्मान गरिएको छ ।
यस्तै, शिक्षकहरु अशोक ओझा, नेपालप्रसाद अधिकारी, नारायणप्रसाद सापकोटा, नारायण प्रसाद शर्मा, रविनाथ पन्त, विश्वशान्ति कुँवर थापा, वीरेन्द्रजंग गुरुङ, कर्मचारीहरु मोतीलाल तिमिल्सिना, कल्पना पन्त र आनन्दीदेवी रानाभाटलाई सम्मान गरियो । कार्यक्रममा गत वर्षको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने शिक्षक र विद्यार्थीले दर्जन बढी सांस्कृतिक र सांगीतिक प्रस्तुति राखेका थिए ।
वार्षिकोत्सवकै अवसरमा प्रकाशित आठौं संस्करणको ग्लोबल वाटिका स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा विद्यार्थीले राष्ट्रिय गान, स्वदेश गान, कविता, नृत्य लगायतबाट पाहुनाको स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङले ग्लोबल कलिजियटको २८ औं वार्षिकोत्सवलाई ज्योतिषको नक्षत्रसँग तुलना गरे । ‘नक्षत्र २८ वटै हुन्छन् । पछिल्लो क्रममा अभीजितलाई मान्न छाडे । त्यसैका कारण विकृति–विसंगति मौलाउन थाले’, उनले टिप्पणी गरे ।
मानिसलाई अन्धकारबाट उज्यालोतर्फ शिक्षाले मात्रै लैजान सक्ने उनले बताए । आफ्ना जीवनका केही उदाहरण प्रस्तुत गर्दै उनले हरेस नखाई अध्ययनलाई निरन्तरता दिए अवश्य पनि सफलताको शिखर चुम्म सकिने उनले स्पष्ट पारे ।
विद्यालयका प्राचार्य बाबुराम पन्तले सामुदायिक विद्यालय सुधार नभएसम्म सामाजिक न्याय नहुने बताए । सामुदायिक विद्यालयको शैक्षिकसँगै सबै प्रकारको विकासमा सघाउन आफूहरु प्रतिवद्ध रहेको उनले स्पष्ट पारे । उनले आफूहरु आलोचनाको बाटोबाट नभई जिम्मेवारीको बाटोबाट अघि बढ्न चाहेको बताए ।
विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकले अन्योल सृजना भएको भन्दै यस सम्बन्धमा आफूहरुले सुझाव दिएको बताए । पन्तले यस सम्बन्धमा पोखरा महानगपालिकाका प्रमुख र शिक्षा महाशाखा प्रमुख समक्ष आफ्ना विचार र सुधार गर्न सकिने विषयमा सुझाव दिएको बताए ।
शिक्षासेवी पवित्रमणि पौड्याले मानवीय मूल्य र मान्यता समाप्त हुँदै जान थालेको भन्दै चिन्ता प्रकट गरे । हिसान कास्की अध्यक्ष यमबहादुर रोकाले मुलुकको कुल बजेटको ११ प्रतिशत शिक्षामा लगानी भएपनि बालुवामा पानी जस्तो भएको भन्दै शैक्षिक क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिकाको कदर हुनुपर्नेमा जोड दिए ।
मानव सेवा आश्रमका भवन निर्माण संयोजक विष्णु बरालले अहिले नैतिकवान मानिसको खडेरी रहेको बताए । विद्यालयका अभिभावक तथा बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले सचेतनात्मक मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राचार्य वेदप्रसाद शर्मा शिक्षकहरु नेपालप्रसाद अधिकारी, वसन्ती बस्नेत लगायतले बोलेका थिए ।