मनाइयो मुक्तक दिवस, उषालाई राष्ट्रिय मुक्तक पुरस्कार

 मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले बिहिबार पोखरामा प्रथम मुक्तक दिवस मनाएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरिएको थियो । पुरस्कारमा ३३ हजार ३३३ रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।

मञ्चका सल्लाहकार तथा प्रतिभा छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले सो घोषणा गर्दै शेरचनले ३० को दशकदेखि हालसम्म नेपाली मुक्तकमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए । साहित्यकार सरुभक्तको संयोजकत्वमा प्रभावी र कृष्ण देवकोटा सदस्य तथा संस्थापक विष्णु अल्पविराम र अध्यक्ष रामजीप्रसाद आचार्य पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ .

२०१२ मा पोखरामा जन्मेकी साहित्यकार शेरचनको वि. सं. २०५६ मा ‘अक्षरहरूका शिविरबाट’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ । यसका अलावा नजन्मेका आस्थाहरू (कविता सङ्ग्रह, २०४८), सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कविता सङ्ग्रह, २०६३), तेस्रो रङ (कथा सङ्ग्रह, २०७०), आधि (उपन्यास, २०७६) प्रकाशित छन् ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले नेपाल मुक्तक प्रतिष्ठान र मुक्तक मञ्चको संयुक्त पहलमा मुक्तक दिवस मनाउने निर्णय भएको जानकारी दिए । पोखरामा २०७० मा मुक्तकसम्बन्धी पोखरा घोषणापत्र जारी भएको दिनकाे सम्रझनामा हरेक वर्ष माघ १८ गते मुक्तक दिवस मनाइन्छ ।