पोखरा म्याराथनका सबै इभेन्टमा चिप्स

आगामी फागुन ५ गते शनिबार हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सबैजसो इभेन्टमा चिप्सको प्रयोग गरिने भएको छ । नेपालकै सर्वाधिक पुरस्कार भएको म्याराथनको यो सस्करणमा ४१ इभेन्टका विजेतालाई १८ लाख १६ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

मनोरञ्जनका लागि सबै दौडिन मिल्ने ‘रन फर फन’ र अपाङ्ग दौडबाहेक सबै इभेन्टमा चिप्सको प्रयोग हुने, रन फर फनमा १० हजार हाराहारीमा सहभागी हुने नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

धावकको सङ्ख्या निर्धारण र खेलाडी दर्ताको अन्तिम मिति तय गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो । माघ २८ गतेसम्म खेलाडीले नाम दर्ता गर्न पाउनेछन् । खुला म्याराथन ४२.१९५ किमिमा एक सय ६०, महिला हाफ म्याराथनमा ५०, १० किमि पुरुषमा चार सय ५० र १० किमि महिलातर्फ एक सय ५० सङ्ख्या निर्धारण गरिएको छ ।

यस्तै, पाँच किमी छात्रतर्फ एक हजार दुई, सोही दूरीमा छात्रातर्फ सात सय, सोही दूरीमा भेट्रान पुरुषतर्फ ५० जना तथा भेट्रान महिलामा २५ जनाले दौडमा भाग लिन पाउने छन् । अब सही समय र दूरी मापन हुने जनाउँदै अध्यक्ष पराजुली थप्नुहुन्छ, “सबै इमेन्टमा सही समय र दूरी यसबाट मापन हुन्छ । रुट छलेर दौड पूरा गर्ने अवस्था रहँदैन,” उहाँ भन्नुहुन्छ ।

मञ्चले यसपालि रुट परिवर्तन गरेको छ । फुल म्याराथन र हाथ म्याराथनका इमेन्टको रुट परिवर्तन गरिएको हो । अधिकांश इमेन्टहरु पोखरा रङ्गशालाबाट सुरु भई हल्लनचोकस्थित क्याम्पिङ चौरमा सकिने तय छ । म्याराथनमा अहिलेसम्म १० देशका धावकले नाम दर्ता गरिसकेका छन् ।

म्याराथन विजेताले पाँच लाख, द्वितीयलाई तीन लाख, तृतीयलाई दुई लाख र चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । महिला/पुरुष हाफ म्याराथनमा प्रथमलाई एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७५ हजार पाउने छन् भने स्वरुप प्राप्त गर्ने छन् ।

१० किलोमिटरमा महिला तथा पुरुषले समान क्रमशः ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ५ किलोमिटर छात्र÷छात्रा दौडका विजेताले क्रमशः नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।