सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष काठमाडौंको सहकारी ठगीमा

सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका ११ जनाविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ।

काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। ११ जनामध्ये अहिलेसम्म २ जना मात्रै पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भइ सहकारीको कोषाध्यक्ष रहेका ३८ वर्षीय अर्जुन थापा छन्।

उनीहरुले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम बचत गर्न लगाएर हिनामिना गरेको आरोप लागेको छ।

अहिले सहकारी ठगीमा मुछिएका फिक्कल गाउँपालिका उपाध्क्ष बराल यसअघि वडाध्यक्ष थिए । यसअघि नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मन्चको सचिवसमेत रहेका बराल अघिल्लो कार्यकालमा फिक्कल गाउँपालिका–५ सोल्पाठानाबाट वडा अध्यक्षमा चुनिएका थिए ।

उनीसहित फरार प्रतिवादीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।