
सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा ४ का अध्यक्षसहित तीन जनाबिरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नोटिस जारी गरेको हो ।
सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सूर्यदर्शन सहकारीका फरार अभियुक्तहरुविरुद्ध इन्टरपोलले नोटिस जारी गरेको बताए ।
जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगीसम्बन्धी कसूरमा १९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता दायर भएको छ । तीमध्ये चार जना पक्राउ परेका छन् भने बाँकी १५ जना अझै फरार छन् । सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको बताइन्छ ।
यही ठगीमा राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिवसमेत रहेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा छन् ।