साहित्यकार दुर्गा न्यौपानेको आत्मकथा ‘नदेखिएका घाउ’ शनिबार सार्वजनिक भएको छ । कस्केली अधिकृत समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गरे ।
दुर्गा कस्केली अधिकृत समाजकी आजीवन सदस्यसमेत हुन् । कार्यक्रममा साहित्यकार सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभई समाजमा पनि उत्तिकै हुने जनाए । ‘आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्यसमेत हुन्छ,’ उनले भने ।
साहित्यकार न्यौपानेले जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने प्रयास गरेको सुनाइन् । कृति अध्ययन गरी रचनात्मक सुझाव दिन अनुरोध गर्दै पाठकको सुझावअनुसार आगामी साहित्यिक यात्रालाई अघि बढाउने उनको भनाइ छ । समीक्षक जगन्नाथ रेग्मीले साहास, संघर्ष र धैर्यको कथा ‘नदेखिएका घाउ’मा रहेको जनाए ।
प्राडा रामनाथ ओझाले आत्मकथा लेखन आफैंमा धेरै चुनौतीपूर्ण हुने जनाउँदै उनले न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको उल्लेख गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य दुुर्गाबहादुर शाह(बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको योगदानबाट साहित्य र वाङ्मय क्षेत्रअघि बढ्ने उल्लेख गरे ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कविता पाण्डे, समाजका सचिव महेश पौडेल र उपाध्यक्ष लोकनाथ दवाडीले समेत धारणा राखेका थिए ।