कविता: शुभकामना

शुभकामना आमा !
हृदयको चोखो भावना
५७ औँ जन्मोत्सवको शुभकामना !
यो महोत्सवको हार्दिक बधाई
उत्तरोत्तर प्रगतिको मंगलमय कामना !
सुगम बनोस् बाँकी यात्रा
अब गर्नु नपरोस् कहिल्यै
अप्ठेरोको सामना ।

फर्किएर हेर्दा, कोक्याउँदो चित्र
मरुभूमिको यात्रा
काँडाघारीमा हिड्नुपर्ने
इथियोपिया जस्तो वातावरण
अभावै अभाव, तनावै तनाव
पार गरेर कहालीलाग्दो उकालो
सन्तानको उन्नतिमा
सुकायौ रगत, बगायौ पसिना
जीवनमा तिम्रो
तातो वालुवा, चीसो असिना
के बाँकी राख्यौँ र आमा
यो जिन्दगीमा ?

एक महिने खाताबन्दी
एक हप्ते प्रगति प्रतिवेदन
बाह्र हाने पटुकी जस्तो लामो
थियो आमा खाताबन्दीको ब्याजलिस्ट
एडिङ रोल झ्याझया क्रयाक्रया !
साइबेरियाको सर्प जस्तो क्याल्कुलेटर
ठ्याक्र्य ठ्याक्र्या !
दङ परेको थिएँ आमा म त
चालिसकै दशकमा कम्प्युटर आउँदा
हाम्रो घरमा !

अहिले सपनाझैँ लाग्छ
पहाडका गाउँ बस्ती डुलेको
साना किसानका समूहमा घुमेको
पन्ध्र दिनको दुर्गम फिल्ड भ्रमण
भैंसीगोठ, भेडीखर्क
बाख्राचौर, चौरीखर्क
माछापोखरी, तरकारी बारी
अवलोकन गर्दै चहारेको ।

सिँचाइ कुलो, गोबरग्याँस
पेल्ट्रकसेट र इनार
स्पिङकल सम्झदा हुन्छु झल्याँस
एक्काइस प्रतिशत ब्याजमा
तीन प्रतिशत हर्जना थप्दा पनि
लिएकै थिए ऋण, तिरेकै थिए ब्याज
तर आमा, आज सस्तो त ब्याज
सजिलो छ प्रक्रिया
धेरै नै छ अनुदान
बालीको पनि बीमा छ
एसएमएस सुविधा छ
अनलाइन बैंकिङ छ
छिनमा रेमिट्यान्स आउँछ
छिनमा पैसा पठाउन सकिन्छ
अत्याधुनिक सफ्टवेयर छ
धेरै धेरै सुविधा थपिएका छन्
तर आमा ग्राहक दुविधामा छन्
तिम्रो उखानै बन्यो आमा
व्यापार छ, अपार छ ।

गाई बेच्नेलाई टाइ बाध्ने
जिरा बेच्नेलाई हिरा बेच्न
बनायौ आमा तिमीले
तिम्रो यो महानताप्रति
नतमस्तक छु आमा !
तिम्रो स्वाभीमानलाई
उच्च सम्मान छ आमा
युवाहरु विदेश भासिएझैँ
भौतारिइरहेका छन् तिम्रा सन्तान
अन्य वित्तीय संस्थामा
कुलतमा लागेकाले
घर वर्वाद गरेझैँ
करोडौंको घोटाला गरिरहेका छन्
आफ्नै पदमा दलाली गरिरहेछन्
कुवौसी सन्तानहरु
अस्मिता लुटिरहेछन् ।

आमा ! यो जन्मोत्सवमा
यो सुवर्ण अवसरमा
चोरलाई चौतारो, साधुलाई सूली नहोस्
ठगलाई भात, इमानलाई लात
नहोस् आमा, हुँदै नहोस्
नियम पालना, समानताको व्यवहार
फुर्न सकोस्, प्रगति यात्रा जुर्न सकोस्
गणतन्त्रको कलिलो घाममा
यो शुभकामना तिम्रो नाममा
आमा कोटी कोटी सलाम
फेरि पनि सुस्वास्थ्य र दीर्घायूको कामना !

कृषि विकास बैंक लिमिटेडको ५७ औं स्थापना दिवसको अवसरमा लेखिएको कविता ।