केही मुक्तक

१. बग्दै बग्दै खोला झरना छहरा टाढा टाढा पुग्छन्
डुल्दै डुल्दै माहुरी अनि भमरा टाढा टाढा पुग्छन्
संधै एउटै जंगल, एउटै रुख र एउटै गुँडमा बस्दैनन्
उड्दै उड्दै पखेटा लागेका चरा टाढा टाढा पुग्छन् ।

२. सुनखानीमा छु कि ढुङ्गाखानीमा छु , थाहा पाउँदैन
आँखाको नानीमा छु कि अगेनाको खरानीमा छु, थाहा पाउँदैन
अरुको रौं – चिराको मूल्याङ्कन गर्न जान्ने मान्छेले
आफू स्वयम् चाँहि कति पानीमा छु थाहा पाउँदैन ।

३. नपत्याउँदो गरेर उ गर्जन्छ रक्सी खाएपछि
जंगलको राजा मै हुँ भन्छ रक्सी खाएपछि
हो घिउभन्दा त रक्सी नै तागतिलो हुँदोरहेछ
हेर न स्याल पनि सिंह बन्छ रक्सी खाएपछि ।