क्षितिज वरिपरि
एकमुष्ट नाङ्गा चित्र घुमिरहेछन्।
भोकका, शोकका
पीडित कतिपय आशे नजरले
डरले धकेल्दैछन्
आफ्ना इच्छाहरू
मरेको सहरतर्फ।
केभिन कार्टरको केमेराले
हिजोआज मौनता धारण गरेको छ।
छेपारोको रङ फेरिएसरि
मान्छेको फेरिएको रङ
जनजनको विवशता
जनजनमा असन्तुष्टि
उता
चाप्लुसी
यता खुट्टा तानातान
कतै स्वार्थका लागि हानाहान
मौन छन् भद्रलोक
सक्रिय छन् दुष्टजन
भिन्सीको चित्रभित्र मात्र जीवित छ
मरेको यो सहर
एउटा खुला आकाश मागेर
भौतारिरहेको छ
यो सहर दिन रात
अनिदो छ सहर
मुटुभित्रको घाउ दुखेको छ
न वैद्य छ
न डाक्टर
यो सहर
अकालै मरेको छ।