
पोखरा महानगरपालिकाले छिमेकका छ पालिकालाई २५ लाखका दरले सहयोग गरेको छ । अन्तरपालिका साझेदारी कार्यक्रम अन्तर्गत महानगरले सहयोग गरेको हो ।
यसै आर्थिक वर्षमा कास्कीका रुपा गाउँपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिका, तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको फेदीखोला गाउँपालिकालाई सहयोग गरिएको हो ।
पोखरा महानगरले दुई पक्षीय हित प्रवर्धन गर्दै उत्पादनमा सहकार्य गर्ने नीति अनुरुप २५ लाखका दरले १ करोड ५० लाख प्रदान गरेको प्रमुख धनराज आयार्यले बताए ।
यसैबीच आचार्यको अध्यक्षतामा अन्तरपालिका साझेदारीमा कार्यक्रम सञ्चालनका लागि समन्वय बैठक भएको छ । बैठकले उत्पादनमा सहकार्य गर्ने, आगामी वर्ष सबै पालिका जोड्न भौतिक संरचनाका बनाउन योजना तर्जुमा गर्न पोखरा महानगरको सहरी विकास योजना आयोगलाई जिम्मेवारी दिने, सीमा विवाद वा अरु समस्या आएमा सहमतिमा टुंग्याउने निर्णय गरेको छ ।
पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाको संयोजकत्वमा अरु छ पालिकाका कृषि अधिकृत रहेको एक समिति गठन गरिएको छ । यो समितिले पालिकाहरुले मिलेर गर्ने सकिने कृषि उत्पादन र बजारिकरणबारे सुझाव पेश गर्ने कार्यादेश पाएको छ ।