ल्यान्डफिलमाथि बनेको नमूना गौशाला चलाउन महायज्ञ हुँदै

पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाम (गौशाला)को बिहीबार उद्घाटन गरिने भएको छ ।

सुविधा सम्पन्न गौशालाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पोखराको पुरानो ल्यान्डफिल साइटमा अहिले गौशाला निर्माण गरिएको छ । १ वर्षदेखि सञ्चालन गरिएको गौशालामा २ सय बढी गाईबस्तुहरू संरक्षित छन् ।

उद्घाटनसँगै राष्ट्रिय परोपकार महासङ्घको स्थापना दिवसका अवसरमा सप्ताह व्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ पनि सञ्चालन गर्ने तयारी गरिएको महासङ्घका संस्थापक भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले जानकारी दिनुभयो ।
महायज्ञबाट सङ्कलित दक्षिणा पोखरा महानगरपालिका–१४ बाच्छेबडुवा स्थित पुष्करिणी परोपकार गोकुल धाममा सञ्चालनमा खर्च गरिनेछ ।

पुस २६ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा गौतमले प्रवचन दिनुहुनेछ । सो क्रममा हरेक दिन पूजा एवं पाठ पारायण हुनेछ । राष्ट्रिय परोपकार महासङ्घ नेपालको १६ औँ वार्षिक उत्सवको अवसरमा महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
महायज्ञले गौशाला चिनाउने र सञ्चालनार्थ कोष खडा गर्ने राष्ट्रिय परोपकार महासङ्घ नेपालका अध्यक्ष कमलनयन गौतमले बताउनुभयो ।

महायज्ञबाट गाई संरक्षण गर्ने चेतना जगाउने गौतमको भनाइ छ । गाइको अवस्था दयनीय भएकाले महानगरपालिकाको सहयोगमा गौशाला सञ्चालन गरिएको गौतमले बताउनुभयो । गौशाला निर्माणमा हालसम्म २ करोड रुपैयाँ लगानी भइसकेको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले सहरमा छोडिएका छाडापशुहरुको व्यवस्थापनका लागि परोपकार महासङ्घको सहकार्यमा व्यवस्थित गौशाला निर्माण गरिएको बताउनुभयो । छाडा पशुचौपायका कारण सहरी सौन्दर्यीकरण, सडक सुरक्षा, ट्राफिक जाम लगायतका समस्या देखिएकाले यसको न्यूनीकरणका लागि महानगरपालिकाले गौशाला सञ्चालन गरेको उहाँले बताउनुभयो ।