केही मुक्तक

अमेरिका, अष्ट्रेलिया नै सबथोक हो भन्ने भ्रममा छन्
गाउँबाट, सहरबाट सबै युवायुवती रित्तिने क्रममा छन्
राजधानीमा चारतले घर छ भनेर के दम्भ देखाउनु खै
जब कि बुढा बाआमा देवघाटको वृद्धाश्रममा छन् ।

उता हार्नेको यता जीत भएको छ
पुरानो दुश्मन नयाँ मीत भएको छ
यो देश भड्खालोमा जाकिए पनि
शकुनीहरुको सँधै हित भएको छ ।

दरबार छ, राजकुमार छ, राजकुमारी छन्
कडा पहरा छ, अघिपछि हतियारधारी छन्
उही राजदण्ड र श्रीपेचमात्रै त नभएको हो
नत्र धेरै कमरेडहरु राजाकै हाराहारी छन् !!