म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा शनिबार बिहान भएको घटनामा घाइते एक बालिकाको पोखरामा मृत्यु भएको छ । आठ वर्षीया प्रियङ्का गर्बुजाको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
सोही घटनामा घाइते ६६ वर्षीया अमृता जुग्जालीको पोखरामै उपचार भइरहेको छ । शनिबार मालिकामा छपनीले हानेर एकको हत्या भएको थियो । सोही घटनामा घाइते बनेका अमृता र प्रियङ्कालाई हेलिकोप्टरबाट उपचारका लागि पोखरा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक अशोक झाले उपचारका क्रममा दिउँसो चार बजे प्रियङ्काको मृत्यु भएको जानकारी दिए ।
छपनी प्रहार हुँदा मालिका–७ की ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो । प्रियङ्का मनिषाकी नातिनी र अमृता छिमेकी हुन् । मनिषालाई छपनी प्रहार भएपछि बचाउन जाँदा प्रियङ्का र अमृतामाथि चिर्पट प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकमा एक जनालाई नियन्त्रण लिइएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक झाले जानकारी दिए ।