गण्डकीमा नश्ल सुधारका लागि कोशी प्रदेशको सोलुखुम्बुबाट याक ल्याइएको छ । याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नश्लका १९ याक मनाङ र मुस्ताङका किसानलाई वितरण गर्न ल्याइएको हो ।
गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । मनाङका लागि नौ याक लिएर निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठसहितको टोली जिल्लामा पुगेको छ । मुस्ताङ पठाउने याक लिएर निर्देशनालयको अर्काे टोली पोखरा हुँदै त्यसतर्फ गएको छ । मुस्ताङका किसानलाई दश याक वितरण गरिँदै छ ।
किसानको पच्चिस प्रतिशत लागत साझेदारीमा ती याक वितरण गर्ने तयारी छ । वरिष्ठ पशु विकास अधिकृत डा श्रेष्ठले हाडनाता प्रजननले यहाँका याकको नश्ल राम्रो नभएकाले सोलुबाट याक ल्याएको जनाए ।
सरकारी मूल्य अनुसार बिसदेखि पच्चिस हजारमा ती याक किनिएको हो । यो कार्यक्रमका लागि यसपालि निर्देशनालयसँग बिस लाख बजेट छ । गएको पुस १२ गते सोलुखुम्बुबाट हिडाइएका याक बुधबार बल्ल जिल्लामा पुग्दै छन् । मुस्ताङ र मनाङ जिल्लाका कृषक, समूह÷समितिलाई ती याक वितरण गरिनेछ ।