सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी आरोपमा फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) अहिले कास्की प्रहरीको हिरासतमा छन् । मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थिति भएका उनी थुनछेक बहस नसकिएपछि कास्की प्रहरीको हिरासतमा पुगेका हुन् ।
राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुन् । गुरुङ सूर्यदर्शनकै आइटी प्रमुख भविश्वर अर्यालसहित मङ्गलबार दिउँसो कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए ।
उनी गएको स्थानीय निर्वाचनमा पालिका अध्यक्षका प्रत्यासीसमेत थिए । कास्कीको मादी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका उनी नेपाली काङ्ग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङसँग पराजित बनेका थिए ।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि २१ असोजमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पन्ध्र प्रतिवादी अझै फरार छन् ।