घूस लिने पूर्व सहकारी रजिष्ट्रार थुनामा

पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत छन् । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो ।

उनले कार्यक्षेत्र थप गर्न भनी एक करोड पाँच लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको थियो । उनी अहिले पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेका थिए । जिल्ला अदालत कास्कीबाट गएको मङ्सिर २६ गते ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारी रजिष्टार कार्यालयको प्रतिवेदनले २६ करोड रुपैयाँ अपचलन भएको देखाएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित दुई दर्जनभन्द बढी अझै फरार छन् ।