कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी अहिले पुर्पक्षका लागि कास्की कारागारमा छन् । दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ७ का स्थायी बासिन्दा हुन् ।
पोखराबाट करिब ४ सय किलोमिटर पूर्वमा पर्ने रामेछापका स्थायी बासिन्दा दर्लामी पोखराको सहकारीको उपाध्यक्ष हुनु अनौठो र अस्वभाविक देखिन्छ । उसो त सहकारीका पूर्वअध्यक्ष जिबी राई ओखलढुंगाका स्थायी बासिन्दा हुन् ।
३८ वर्षीय दर्लामीलाई प्रहरीले बिहीबार काठमाडौंबाट प्रक्राउ गरेको थियो । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ७ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्तासमेत रहेका दर्लामीलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो ।
नेकपा (माओवादी केन्द्र) लिखु तामाकोशी गाउँपालिका अध्यक्षसमेत रहेका उनलाई सोमबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ पर्नु केही दिनअघि नै दर्लामीले वडा सदस्य कल्पना पाण्डेलाई कार्यवाहक दिएर काठमाडौं गएको पालिका अध्यक्ष केशव महतले बताए ।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ ।