
साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’लाई लेखनाथ साहित्य पुरस्कारबाट सम्मान गरिएको छ ।
कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ४० औं जन्मजयन्तीको अवसरमा आइतबार पोखरा महानगरका प्रमुख धनराज आचार्य, साहित्यकार सुरुभक्त लगायतले उनलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कार राशि नगद ५० हजार र सम्मानपत्र छ । एक सय तीन वर्षीय साहित्यकार किञ्जल्कलाई उनको घरमै पुगेर सम्मान गरिएको हो । उनका अनुदित कृति सात र मौलिक कृति तीन गरी दश पुस्तक प्रकाशित छन् । पुरस्कृत व्यक्तित्व किञ्जल्कले घरमै सम्मानित हुन पाएकोमा ऊर्जा थपिएको सुनाए ।

पोखरा महानगरका प्रमुख आचार्यले वाङ्मय सेवामा लाग्ने शताब्दी पुरुषलाई सम्मान गर्नु पाउनु विरल अवसर भएको उल्लेख गरे । साहित्यकार सरुभक्तले निष्काम भावले लेखन र जीवन यापन गर्ने साहित्यकारका रुपमा किञ्जल्कलाई चिनाए ।
यस्तै, कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार भागिरथी श्रेष्ठ र लेखनाथ पत्रकारिता पुरस्कारबाट दीपक परियार सम्मानित बनेका छन् । लेखनाथ जन्मजयन्तीको सन्दर्भमा शनिबार अर्घाै अर्चलेमा कला कार्यशाला भएको छ ।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले कविशिरोमणिको स्मृतिमा संस्थाले २०५५ सालदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाए ।