लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना, १ को मृत्यु, २ घाइते

पोखरा महानगरपालिका २७ डाँडाकोनाक जारी पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना भएको छ ।

बाग्लुङबाट भैरहवातर्फ जादै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान करिब ९ बजे लेखनाथ महोत्सवको प्रवेश गेट अगाडि ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ब्रेक फेल भई सडकको दायाँ साईडको माटोको ढिस्कोमा ठक्कर खाएर दुर्घटनामा परेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
बस अनियन्त्रित भई भारत घर भइ पोखरा बस्ने ३० वर्षीया इस्श्रावती कुमारीलाई ठक्कर दिँदा उनको मृत्यु भएको डिएसपी विकले बताए। उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

बसको ठक्करबाट तनहुँका ३६ वर्षीय रामजी गन्धर्व र पर्साका ४६ वर्षीया चिजमाया गन्धर्ब घाइते भएका छन् । घाइतेको लेखनाथसिटी अस्पतालमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।