
चौंथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी माघ १ गतेबाट हुने भएको छ । प्रतियोगिताको महिला र पुरुष दुवै विधामा समान छ टिमको सहभागिता रहने पक्का भएको छ ।
दुवै विधाका विजेताले समान पुरस्कार पाउने छन् । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताका प्रथम, द्धितीय र तृतीयले क्रमशः पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न, दुई लाख पचपन्न हजार पाँच सय पचपन्न र एक लाख पच्चिस हजार पाँच सय पचपन्न रुपैयाँ पाउने बताए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शर्माले लिग कम नकआउटका आधारमा खेलाइने यो प्रतियोगिता माघ ६ गतेसम्म चल्ने जानकारी दिए । श्रीलङ्काको सेनाको राष्ट्रिय टिम, भारतीय राष्ट्रिय खेलाडीसमेत प्रतियोगितामा सहभागी हुने तय भएको छ । आयोजकले खेलाडीलाई पोखरा ल्याउने, पछि पठाउने खर्चसहित दैनिक भक्ताको समेत व्यवस्था गरेको जनाएको छ ।
यसपालिको प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश, एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट क्लब र श्रीलङ्का आर्मी टिम सहभागी हुँदै छन् । महिलातर्फ नेपाल एपिएफ क्लब, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र हरियाना पुलिस क्लब सहभागी हुँदै छन् ।
प्रतियोगिता आयोजना गर्न एक करोड खर्च लाग्ने अनुमान छ । पोखरा रङ्गशालामा प्रतियोगिताका दर्शकलाई मध्यनजर गरी भव्य स्टेज तथा गत वर्षभन्दा ठूलो प्याराफिट निर्माण गरिने भएको छ । तयारीका लागि शर्माको अध्यक्षतामा एक सय एक सदस्यीय मूल आयोजक समिति र विभिन्न एघार उपसमिति गठन भएका छन् ।
प्रतियोगितामा महिला, पुरुष दुवैतर्फ सर्वाेत्कृष्ट खेलाडीलाई पच्चिस हजार पाँच सय पचपन्न प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र कोचलाई जनही दश हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान गरिनेछ ।