पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङमा सोमबार राति १ बजेतिर पैदल यात्रुलाई ठक्कर दिने कारका चालकको पहिचान भएको छ ।
कास्कीको माछापुच्छ्रे २ खादरजुङ्ग बस्ने वर्ष ३२ को भक्तराम गुरुङ आफैं वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएका हुन् । कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको थियो ।
प्रस्याङको सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको बा१३च ३७२१ नं। को कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका ६ घर भई पोखरा–३, नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेका पुरुषको मृत्यु भएको हो । घटनापछि छन्त्याल र अर्का पुरुषलाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र मृत्यु हुने एक पुरुषको पहिचान खुल्न नसकेको जनाए ।




