‘लोहितकिनारका गोठ र गोठालाहरू’ : असमेली कथा साहित्यमा एक नौलो आयाम

संसारका सबैभन्दा ठुला नदीहरूमद्धे ब्रह्मपुत्र नदी पनि एक हो। यस नदीलाई असममा लोहित, बर लुहित, महाबाहु, ब्रह्मपुत्र अनेक नाउँले चिनिने गरिन्छ। ब्रह्मपुत्रलाई डा. भुपेन हाजरिकाले असमको आयु रेखा भनेका छन्। ब्रह्मपुत्रसँग असमेली गोर्खाहरूको पुरानो साइनो छ। यसैका किनारमा गाई- भैँसीका गोठ र गोठालाहरूसँग दुख- सुख साटासाट गर्दै आफ्नो बालापन बिताएका एक उद्यमी कथाकार हुन् पुरुषोत्तम उपाध्याय दाहाल जसलाई ‘गोठाले कवि’का रूपमा पनि चिनिन्छ। असमको धौला तिनसुकियामा जन्मिएका दाहालको कर्मथलो भने हाल गुवाहाटी सहर हो र उनी पञ्जाब नेसनेल बैङ्कमा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छन्।

उनको साहित्य यात्राको थालनी कविता विधाबाटै भएको हो। गत सन् २०२२मा उनको पहिलो कविता सङ्ग्रह ‘पातको फिरफिरे’ प्रकाशित भएको पाइन्छ। यसअघि नै उनका सरल र मन छुने कविताहरूले सामाजिक सञ्जालमा धेरै समादर पाएका हुन्। उनको ‘बुढी’ शीर्षक कविता त सामाजिक सञ्जालमा धेरै चर्चामा आएको कविता हो।

कविताबाट निबन्ध, नाटक, कथा र कथाबाट उपन्यासतिर लाग्ने प्रकिया चलनचल्तीकै कुरा हो। त्यही भएर होला अहिले उनको साहित्य यात्रा कथातिर मोडिएको छ। उनले हालै सन् २०२३को डिसेम्बर ७ तारिखका दिन आफ्नो दोस्रो कृति एवं पहिलो श्रृङ्खला- कथा सङ्ग्रह ‘लोहितकिनारका गोठ र गोठालाहरू’ प्रकाशित गरेँ। यस लेखमा यही कथा सङ्ग्रहबारे चर्चा गर्ने जमर्को गरिएको छ।

कथा साहित्यको सबैभन्दा पुरानो र मनोरञ्जनात्मक विधामध्ये एक हो। कथामा जीवनको कुनै खण्डविशेषलाई प्रकाशित गर्ने चेष्टा गरिन्छ, जसका लागि संक्षिप्त कथानकको निर्माण गर्नुपर्ने हुन्छ, जसमा घटनाहरू र चरित्र आदि हुन्छन्। सोहीअनुरूप पुरुषोत्तम उपाध्याय दाहालले पनि आफ्नो बालापन एवम् किशोर अवस्थामा घटेका सुखद्- दुखद् विभिन्न घटनाहरूलाई समेटेर कथाको आकार दिने प्रयास गरेको देखिन्छ। उनले कथाहरूमा जीवनका भोगाइ र सोचाइहरूलाई घटनाका तन्तुमा उनेर मूर्त रूप दिने प्रयास गरेका छन्। यसरी उनका कथाहरू र कथामा रहेको अतीत प्रीतिलाई हेर्दा उनलाई स्वच्छन्दतावादी कथाकार भन्न मिल्छ। फेरि उनका कथाहरूले असमको आञ्चलिक यथार्थलाई बोकेका छन् र उनी यहाँ आञ्चलिक यथार्थवादी कथाकारका रूपमा झुल्किएका छन्।

यस सङ्ग्रहका कथा मूलतः श्रृङ्खला कथा हुन्। सबै कथाले नै एक निर्दिष्ट कालावधिको गोठको जनजीवनलाई प्रतिनिधित्व गरेका छन्, यसको समाख्याता ‘म’ पात्र अथवा लेखक स्वयम् हुन् जसले संस्मरणात्मक शैलीमा कथाहरू भन्दै गएका छन्। कथाहरू पढ्दा कता कता कालेबुङका कथाकार समशेर अलीको कथा सङ्ग्रह ‘मामा’ को याद आउँछ। असममा यसप्रकारका शृङ्खला कथा लेख्ने सायद पुरुषोत्तम नै पहिला होलान। अथवा यस विषयमा खोज-अनुसन्धानको खाँचो छ।
पुरुषोत्तमको यस सङ्ग्रहमा मोठ १७वटा कथा समावेश गरिएको छ। यस पुस्तकमा कथाकार दाहाल एक संवेदनशील हृदय भएका सर्जक हुन् भन्ने प्रष्ट झल्किन्छ। उनले यहाँका सहज- सरल गोपालक गोर्खाली जीवनको भोगाइ छेवैबाट देखेका र भोगेका छन्।

यो भोगाइले उनलाई मानवतावादी, जातिप्रेमी कथाकार बनाउन सक्तो प्रयास गरेको छ। उनका कथाहरूमा शिल्पको चमत्कारभन्दा समस्याको गहिराइ खोतल्ने अधिक प्रयास हुनाले कथाको शिल्पपक्षको तुलनामा विचारपक्ष मर्मस्पर्शी र कसिलो छ। भविष्य पिँढीले असमेली गोर्खालीहरूको इतिहासको एउटा पाटो यसमा खोजेर पाउलान।

आलोच्य पुस्तकको पहिलो कथा हो ‘ब्रह्मपुत्रको किनार र गोठालाहरू’। यस कथाले कताकता वरिष्ठ आख्यानकार लीलबहादुर क्षत्रीको चर्चित उपन्यास ‘ब्रह्मपुत्रको छेउ छाउ’ को याद दिलाउन पुग्छ। ‘ब्रह्मपुत्रको छेउ छाउ’ का डायरी महाजनहरूलाई सम्झनामा ल्याउँछ।

यस कथाको कथानक सन् १९७९मा असममा आएको ठुलो बाढीमा भएको एउटा मार्मिक र डरलाग्दो घटना हो। गोठमा विभिन्न खाद्यान्न र जरुरी सामान लिएर ‘म’ पात्र याने कथाकारसँग सातजना भएर नाउमा जाने क्रममा छालमा फसेर एउटा औटेङा (पाँचफले)को रुखको सहारामा चारदिन काट्नु परेको वेदनादायक कथा छ। हिन्दीमा एउटा भनाइ छ ‘डुबते को तिनके का साहारा’ ठीक यस्तै प्रकारले यहाँ पाँचफलेको बोट नै उनीहरूको एकमात्र सहारा थियो। यसका साथै त्यो समयको प्रलयङ्कारी बाढीमा धेरै गाई र भैँसी गोठहरूको नाश भएको दुखलाग्दो परिस्थितिको वर्णन यहाँ पाइन्छ।

यो सङ्ग्रहको सबैभन्दा लामो कथा पनि यही नै हो। यसमार्फत् कथाकार अफ्ठ्यारो परिस्थितिमा एकताको महत्त्व पनि बुझाउन सक्षम भएका छन्। साथै यसमा पर्यावरण चेत पनि देखिन्छ। तर त्यो पर्यावरण चेत कथाको घटनाका पात्र-पात्रा र उनीहरूको कार्यव्यापारको माध्यमबाट नदेखाएर समाख्याताको वक्तव्यबाट स्पष्ट पारिएको छ।

श्रृङ्खलाबद्ध तरिकाले कथाहरू अघि बढाउने क्रममा कथाकारले अर्को कथा ‘भोक मिठो कि भोजन मिठो’मा पहिलो कथामा चारदिन हराएपछि गाउँ फर्किँदाको खुसी र चारदिनपछि खाना खान पाउँदा भोकको महत्त्व बुझाउन सफल एक अन्तर छुने दृश्य देखाइएको छ। यसका साथै बाढीको चपेटमा परेर मरेका गाईवस्तु तथा गोपालकहरूले आफ्नो परिश्रमको सही मूल्य कहिल्यै नपाएको आफ्नो विचार पोेखेका छन्।

‘घर फर्किदा’ कथामा पनि मृत्युको मुखबाट कथाकार फर्किएपछि गाउँमा उनीहरू मरेको खबर फैलिएको र आफन्तहरू भेट्न आएको दृश्य देखिन्छ। यसका साथै उनको गाउँमा प्रचलित धामी झाँक्रीजस्तो रुढीवादको विश्वास गरिन्थ्यो भन्ने कुरा पनि कथाकार दाहालले यस कथामा उल्लेख गरेका छन्।

सङ्ग्रहको चौथो कथा हो ‘कथा सुन्न पुनर काफ्ले साइँलाको आगमन’। विगतका कथा सुनाउने क्रममा कथाकार यस कथामा फेरि बालापनमा गोठमा भएको अर्को एउटा घटना सुनाउन थाल्छन्। यसमा पनि सन् १९७९को बाढीपछि गोठ सारेको र गोठमा हुने कामकाज तथा दुधको व्यापारदेखि लिएर गोठालाहरूको रहन-सहन सबै देखाउने प्रयास गरिएको छ। यस कथामा त्यो समयमा असममा विदेशी बहिष्कार आन्दोलनको प्रभावले स्कुल-कलेज बन्द भएकाले कथाकार पनि गोठमा नै धेरै समय बिताउने गर्थे। उनले गोठालाहरूको जीवनलाई नजिकबाट देखेका र अनुभव पनि गरेका कुरा छर्लङ्ङ हुन्छ।

‘उजुरेबाको बाघ सिकार’ कथाको कथावस्तु पनि गोठमा भएको एउटा सानो घटना नै हो। जसमा गोठका गाई -भैँसी मारेर चौपट पार्ने बाघलाई उजुरेबाले एकै गोलीमा ठहरै पारेको कथा छ। यो कथाको माध्यमले कथाकारले गोर्खालीको साहस कतिसम्म हुन्छ भन्ने कुरा प्रमाणित गर्ने प्रयास गरे झैँ लाग्छ।

कथाकार काफ्ले साइँला नामको पात्रलाई आफ्नै डेरामा कथा सुनाउँदै छन्। मानौँ महाभारत युद्धको धाराप्रवाह सञ्जयले धृतराष्ट्रलाई सुनाइरहेको छ। अब कथा सुनाउने क्रममा उनले साइँलालाई एउटा प्रेमकथा सुनाउँछन्। कथाको शीर्षक छ ‘खत्री कान्छाको प्रेमकथा’। कथामा खत्री कान्छा

बोगीमायाको प्रेममा परेको र भक्कु कुटाइ खाएको रोचक घटना छ। यस कथाद्वारा त्यस समयको गोठाले प्रेम, गाउँले महाजनको धाँक र अहम तथा लेखकको बुद्धिमताको प्रकाश पारिएको छ।

श्रृङखलाअनुरूप कथाहरू चल्दै जान्छन्। ‘बालुवामा भेटेको राइफल र तेलको ड्रम’, ‘फौजी र डाकाको सङ्घर्ष’, ‘सशत्र सङ्गठनसँग भेटघाट’, ‘सशत्र सङ्गठनको प्रमुखसँग भेट’ शीर्षक कथाहरूमा कथाकारले समकालीन असमको रातनैतिक र सामाजिक स्थिति, उग्रवादको समस्या आदि देखाउने प्रयास गरेका छन्। यी कथाहरू रोचक र कौतूहलपूर्ण तरिकाले प्रस्तुत गरिएको छ। गोठमा हुँदा कसरी सेना, पुलिस साथै सशत्र सङ्गठनसँग तालमेल राखेर चल्नु परेको र समस्या समाधान गर्न कति अभ्यास गर्नु परेको थियो ती कुराहरूको कथाकारले उजागर गरेका छन्।

यसैगरी ‘गोठको संसारी पूजा’, ‘गडकट्टाको कथा’, ‘ओधान भाँचिएपछि’, ‘मुलियाघाट’, ‘भगीरथको कोरली’, ‘मिरीछ्पडीको बाघघोली/ तिताखोरी बिल’, ‘दुधले पखाला’ शीर्षक कथाहरूमा पनि नदी किनारका गोपालकहरूका सु:ख-दु:ख, संस्कृति, परम्परा एवम् रमाइला घटनाहरूका रोचक वर्णन पाइन्छ। सङ्ग्रहको अन्तिम कथा हो ‘गोठ हेर्ने इच्छा’। यो छोटो कथामा भने कथाकारका गोठका कथा सुनेर गोठ हेर्न इच्छा जन्मिएपछि काफ्ले साइँला र दुलाल जेठालाई गोठ हेर्न लिएर गएको र अब त्यो पुरानो ठाउँमा परिवर्तन भएको कुराको उल्लेख पाइन्छ।

समग्रमा भन्नुपर्दा कथाकार दाहालले वास्तवमै उनका कथामार्फत् गोठाले जीवनमा भोगेका आँसु, हर्ष र सङ्घर्षमय दिनहरूको छवि देखाउने प्रयास गरेका छन्। यो कृतिमा त्यस समयमा देशमा भएको हिंसा र नेपालीभाषीहरूको यातना बुझ्न सकिन्छ। मानवीय समस्याहरूको चित्रण पाउन सकिन्छ। उनका दौँतरी साथीहरूको, गोठ-गाउँका मानिसहरूको सरलताको चित्रण पाइन्छ। कथाहरूमा गाउँले महाजनका धाँक, संस्कृतिमा विकृति पसेका, गोठालाहरू भाङ, कानी, रक्सी र तासको कुलतमा लागेका कुराहरूले पनि स्थान पाएका छन्। यसका साथै उनका कथामा प्रेम र हास्य रस पनि छ। कथाकारले आफ्ना कुलतहरू पनि खुल्लमखुल्ला प्रकाश गरेको पाइन्छ। उनले यी कथाहरू साथीसँग रक्सी र मासु खाँदै भनेका हुन्। यसले कथाहरूलाई रोचक पारेको छ।

तर, कथाहरू पढ्दा पाठकलाई कथा पढेजस्तो नलागेर केवल घटना वर्णन सुनेजस्तो पनि लाग्न सक्छ। कथाको बुनोट त्यति कसिलो छैन। तर, कथाहरू वास्तविकतासँग मेल खाएका छन्। यो कथाको महत्त्वपूर्ण स्थान हो जसले उनका कथालाई पढ्न योग्य र यथार्थको निकै नजिक लैजान्छ। कथाहरूमा नयाँ प्रयोग छ। कौतूहल निर्वहन भएको छ।

विषय लगभग एकै भए पनि प्रसङ्गमा विविधता छ। सबै कथाहरू प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएका छन्। कथाहरूमा ‘म’ पात्रकै प्राथमिकता छ। गोठका कथा भएर होला प्रायः कथाहरूमा पुरुष पात्रहरूकै अधिकता छ। नारी पात्रको कुरा न्यून छ।
भाषामा अलङ्कार र लालित्यको कमि अनुभव भए तापनि भाषा सरल र सुबोध्य छ। वर्णन सपाट छ। भाषामा तत्सम, तद्भव दुवैका साथै स्थानीय शब्दको पनि प्रयोग छ। हिन्दी र अङ्ग्रेजी साथै आगन्तुक शब्दको प्रयाप्त प्रयोग भएको छ। केही स्थानीय शब्दको अर्थ फुटनोटमा खुलाइएको छ। पुस्तककोअन्त्यमा एउटा उपसंहार पनि रहेको छ। यो उपसंहारले सायद यी कथाहरूलाई औपन्यासिक रूप दिने प्रयास गरिएको होला, अन्यथा यो नरहेको भए पनि बिग्रने थिएन।

हिज्जेहरू सामान्य छुटेका छन्। यति हुँदाहुँदै पनि उनका कथाहरूमा उनको समयका पाठकले आफू, आफ्नो समाज, आफ्नो समयलाई पाउँछन्, नवीनले पुर्खाहरूको जीवन भोगाइअको इतिहास पाउँछन् र कथा रुचाएर पढ्छन्।

अन्त्यमा भन्नुपर्दा पुरुषोत्तम दाहाल एकजना नवीन कथाकारका रूपमा देखा पर्नुका साथै उनलेे आफ्ना कथामा नयाँपन देखाउन सक्षम भएको देखिन्छ। गोर्खा जातीको पौराणिक कालदेखि चलिआएको गोपालनको व्यवसाय अहिलेसम्म पनि केही मात्रामा चलेको छ। पहिलेका धेरै गोर्खाहरूको यही एक व्यवसाय नै आयस्रोत एवम् जीवन धान्ने जरिया थियो। तर, अहिले यस्तो छैन्। समयका साथसाथै सबै परिवर्तन हुँदैछ। गोर्खाहरू हरेक छेत्रमा कार्य गर्न सक्षम हुँदै आएका छन्। कथाकार दाहाल आफै नै अहिले बैङ्कमा जागिरे छन्। जे होस् उनको यो कथा लेखन प्रतिभा अझै उच्चस्तरमा पुगोस् र उनको पुस्तकले अझै समादर पाओस् भन्ने शुभकामना दिँदै अहिलेलाई यति नै।