एपेक्सले शुक्रबार आयोजना गरेको छन्दोबद्ध कवितावाचनमा रेन्बो एकेडेमिक होम्सकी निस्मा पुन प्रथम भएकी छन् । ढुंगेसाँघु बोर्डिङकी दीया लामा दोस्रो हुँदा रेन्बोकै जानुका श्रीष तेस्रो र ताराकुञ्ज बोर्डिङकी सविता खनाल सान्त्वना बने ।
विजयी विद्यार्थी र स्कुलहरुलाई एपेक्स अध्यक्ष बाबुराम बराल, कार्यक्रम संयोजक मोहन पौडेल लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा १० विद्यालयका १७ विद्यार्थी सहभागी थिए ।
प्रतियोगिताका निर्णायक संयोजकमा प्रेमनारायण ढकाल र साहित्यकार शिव त्रिपाठी थिए । प्रतियोगीहरुले लेखनाथ पौडेल, वासुदेवी त्रिपाठी, मनोज भण्डारी, सरस्वती गुरागाई, माधवप्रसाद पौडेल, सिद्धिचरण श्रेष्ठ लगायतका कवितावाचन गरेका थिए ।

एपेक्स अध्यक्ष बरालले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस खालका कार्यक्रम आयोजना गर्ने गरिएको बताए । कार्यक्रम संयोजक पौडेलले १४ स्कुल आवद्ध एपेक्स विभिन्न सिर्जनात्मक कार्यक्रम गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र विद्यार्थीको चौतर्फी विकासमा योगदान गर्दै आएको उल्लेख गरे ।
साहित्यकार त्रिपाठीले विद्यार्थीलाई छन्दवाचन गर्न सिकाउनुकासाथै पृष्ठपोषण पनि गरेका थिए। कार्यक्रममा निर्णायक संयोजक प्रेमनारायण ढकाल र शिक्षक ध्रुवबन्धु रिजालले पनि बोलेका थिए ।






