मित्र मिलन बचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा थप २ जना पक्राउ परेका छन् । पोखरा ८ रामघाट बस्ने वर्ष ३५ का गोपाल खनाल र पोखरा १७ विरौटा बस्ने वर्ष ४३ का बुद्धिसागर पौडेल पक्राउ परेको हुन् ।
हालसम्म सो कसुरमा ५ जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धानअघि बढाइएको र फरारहरुको खोजी जारी रहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । पोखरा ९ नयाँबजारमा संचालनमा रहेको मित्र मिलन बचत तथा ऋण सहाकारीका संचालक समिति, लेखा समितिसहितले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ ।
रकम हिनामिना गर्ने र ठगीमा संलग्न भएको आरोपमा जिल्ला अदालत कास्कीले सञ्चालक, केही पत्रकार, वकिल र जनप्रतिनिधिसहित ३० जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । मंसिर १६ गते अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी लिएसँगैं ठगीमा संलग्नहरुको खोजी सुरु गरेको थियो ।
पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, पत्रकारहरु अर्जुन गिरी र विजय विजय लम्साल र कानुन व्यवसायी जनकल्याण पराजुलीसहित दुई दर्जन अझै फरार छन्
सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथैं पोखरा महानगरपालिका वडा नं। २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक एवम् पोखरा २१ का इञ्चार्ज अर्जुन गिरी, प्रेस युनियन कास्की र सहकारीका उपाध्यक्ष विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु अझै फरार छन् ।
यसअघि नै बचतकर्ताको पैसा फिर्ता गर्न सहकारीले दिएको चेक नसाटिएपछि बैकिङ कसुरमा संस्थाका अध्यक्ष रमण पौडेल, राजु बराल र कर्मचारी किरण अधिकारी पक्राउ परिसकेका छन् । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले यो सहकारीको २६ करोडभन्दा बढि रुपैयाँ हिनामिना भएको जाएको छ ।




