शिव पलाँसका तीन मुक्तक

१. यो बैंशालु फूल, यो हरियो पात सबै झरेर जाने हो
सके धर्तीमा अलिकति सुवास, सौन्दर्य छरेर जाने हो
मेरो मृत्युको मिथ्या खबरमा दीपावली नगर न मित्र
तिमी पनि अजम्मरी हैनौ, आखिर भोलि मरेर जाने हो

२. समाजवादको मीठो सपना बेचेर सत्तामा आएका छन्
जहाजदेखि सुनसम्म सबै थोक यिनैले खाएका छन्
जनताको रगतसँग साटेको गणतन्त्र होइन र यो ?
खोई जनताले एउटा राहदानीबाहेक के पाएका छन् ?

३. म मै जस्तो हुनुपर्छ भन्ने लाग्यो, तिमी जस्तै हुनुपर्छ भन्ने लागेन
पीडा पिएर पनि हाँस्न सकिन्छ, चौतारीमा रुनुपर्छ भन्ने लागेन
आखिर निल आर्मस्टङ पनि फर्केर फेरि यही पृथ्वीमा त आयो
त्यसपछि चाँहि मलाई कहिल्यै उडेर चन्द्रमा छुनुपर्छ भन्ने लागेन।