पोखराका होटलहरुले अनिवाय रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।
मङ्सिर ५ गते पोखराको पृथ्वीचोकको एक होटलमा अचेत फेला परेकी सुकु विकको मृत्युको कारण अझै पत्ता लागेको छैन । विकको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा होटलमा सुरक्षाका विधिहरु नअपनाएको पाएपछि प्रहरी र व्यवसायीको छलफलले यी निर्णय गरेको हो ।
पोखराका होटल क्षेत्रको सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न सिसी क्यामेरा जडान, पाहुनाको पूर्ण विवरण राख्ने लगायतका निर्णय गरिएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न व्यवसायीसहित सरोकारवालाको सहभागितामा यस्तो निर्णय गरिएको जानकारी दिए ।
अब होटलहरुले होटल परिसर र काउन्टर स्पष्ट देखिने गरी सिसी क्यामेरा जडान गर्नुपर्ने छ सँगसँगै होटल सञ्चालकहरुले आफ्नो होटलमा आउने ग्राहकको अभिलेख, आएको र बाहिरिएको समय, सम्भव भएसम्म फोटोसमेत राख्नुपर्ने भएको छ ।
होटलमा आउने ग्राहकको परिचय खुल्ने कागजपत्र राख्ने, होटलमा बालबालिकालाई कामदारको रुपमा नराख्ने र कर्मचारीको तिनपुस्ते विवरणसहितको अभिलेख राख्नेसमेत निर्णय भएको छ ।




