अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ राखिएको छ ।
नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो । पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरे ।
चाडै डिजिटल नक्सा राख्नेछ । सेल्डनले हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी दिइन् । ‘पछि यहाँ ठूलो डिजिटल नक्सा राख्ने गरी तयारी भइरहेको छ । यसमा यहाँ अवलोकन गर्न आउने दर्शकले स्क्रिनमा जुन ठाउँमा छुन्छन्, त्यसपछि प्रश्नोत्तरसहित जानकारी लिन सक्नेछन्,’ उनले भनिन् ।
नक्साले नेपालको भूगोलसहित जीवनशैली तथा जैविक विविधता बुझ्न मद्दत गर्ने विश्वास संग्रहालयकी कार्यकारी अधिकृत निर्मला न्यौपानेको छ । उनले भनिन्, ‘यो नक्सा स्थापना भयो संग्रहालय अझ डिजिटल बन्ने छ । अवलोकनकर्ताले देश बुझ्न थप सहयोग पुग्ने विश्वास लिएका छौं ।’
शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदै छ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सव संयोजक जिनेश सिन्दुराकारले जानकारी दिए । महोत्सवमै नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको छ ।




