पोखरा १७ को वडाध्यक्ष कप बुद्धिचालमा आलिस्मा र परिवेश प्रथम

पोखरा महानगरपालिका वडा नं. १७ मा भएको विद्यालय स्तरीय वडाध्यक्ष कप बुद्धिचालमा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको छ । हिमालयनका आलिस्मा पनेरु र परिवेश थापा सर्वाेत्कृष्ट भएका हुन् ।

माइन्ड फ्रेस चेस क्लबले आयोजना गरेको प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो क्रमशः ढुंगेसाँघु बोर्डिङ स्कुल, वेस्ट प्याइन्ट बोर्डिङ र शन्ति निकुञ्ज बोर्डिङ भएका छन् । विजयी विद्यार्थीलाई मेडल र स्कुलहरुलाई ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगितामा १६ स्कुलका २८ विद्यार्थी सहभागी थिए । प्रतियोगिताका मुख्य जज रामबहादुर क्षेत्रीले ५ राउन्डमा टिम म्याचका रुपमा चेस खेलाइएको जनाए ।
कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष योगीले विकासलाई भौतिक निर्माणमा मात्र सीमित गर्न नहुने जनाइन् ।

उनले भनिन्, ‘विकासमा मानवीय विकास, सामाजिक विकासको ठूलो भूमिका हुन्छ । वडाले अहिले फुटबल, भलिबल, ब्याडमिन्टन, दौड जस्ता प्रतियोगिता गर्दै छ ।’

कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिलबहादुर कोइरालाले प्रतियोगिता उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा १७ का वडा सदस्य विक्रम गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल संघ अध्यक्ष युवराज भण्डारी, छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रिनाथ पहारी लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।