सामान्यतया किशोरावस्था शिक्षाआर्जनकै अवधि हो । यो उमेरमा किशोरकिशोरीहरु घरबाटै स्कुल, क्याम्पसमा शिक्षार्जन गर्छन् । पछिल्लो समय साइबर अपराध र अन्य आपराधिक घटनामा किशोरकिशोरीको संलग्ना बढ्दै गएको छ ।
हालै प्रहरीले पोखरामा रोकिराखेको बस चोरेर चितवन पुग्नुभएका एक किशोरलाई पक्राउ गरेको छ । शुक्रबार राति पोखरा महानगरको वडा नं. ९ मा पार्किङमा राखिएको ग१ख ९६३८ नम्बरको बस चोरी भयो । शुक्रबारै राति चितवनको भरतपुर नगरपालिका वडा नं. ११ आँपटारीबाट सो बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १७ घर भएका ती किशोरलाई आँपटारीमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । ती किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाकासम्बन्धी मुद्दामा अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, अर्का एक किशोर चौथो पटक स्कुटर चोरीमा पक्राउ परेका छन् । मङ्सिर १९ गते पोखरा–३, नदीपुरमा पार्किङमा राखिएको ग१४प २०३४ नम्बरको स्कुटर र पोखरा–१, बगरबाट ग८प ९९३ नम्बरको स्कुटर चोरी आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले बागलुङ स्थायी घर भई पोखरा–१६, दीप बस्ने १७ वर्षीय किशोरलाई स्कुटरसहित नियन्त्रयणमा लिएको हो ।
ती युवालाई पनि अदालतबाट चोरी तथा डाकासम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता विकले जानकारी दिनुभयो ।




