सुरु भयो पर्वतीय पर्यटन महोत्सव

आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सव शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले सुरुआत गरे ।

उनले जलवायु परिवर्तनमा योगदान नभए पनि नेपालले प्रत्यक्ष असर भोगिरहेको सुनाए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको जनाए । ‘जुन खालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भूभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’, उनले भने ।

ठूला मुलुकले कार्बन उत्सर्जन नरोकेसम्म नेपाल प्रभावित भइरहने मन्त्री महतले औंल्याए । ‘हामीले जुन क्षति व्यहोरेका छौं, त्यो क्षतिका लागि तपाईहरु जिम्मेवार हुनुहोस्’, अन्तर्राष्ट्रिय समुदायलाई उनले भने । यसकै कारण नेपालले बेमौसमी बाढी, पहिरोको सामना गर्नुपरेकोमा उनको चिन्ता छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले विकसित राष्ट्रले गरेको कार्बन उत्र्सजनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको दोहो¥याए । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले जलवायु परिवर्तनको असर ठ्याक्कै कुन हिमालमा परिरहेको छ यकिन गर्नुपर्ने आवश्यकता औंल्याए ।

पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।
उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइयो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।

किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुने न्यौपानेले बताइन् ।

महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ । यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको तस्बिरसमेत प्रदर्शनीमा छन् ।

महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले वार्तालाप गर्नेछन् ।

आठौं संस्करणको पर्वतीय महोत्सवमा पहिलो पटक ‘टग अफ वार’ समेटिएको छ । छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, दोहोरी गीतको रौनक महोत्सवमा छ ।