वडाध्यक्षसहित ३० लाई पक्राउ पुर्जी, उजुरी दिन बचतकर्तालाई सूचना

मित्रमिलन सहकारीका सञ्चालक समिति, लेखा समितिका पदाधिकारीसहित केही व्यक्तिले ठूलो रकम हिनमिना गरेको पुष्टि हुँदै गएको छ । सहकारीमा निक्षेपकर्ताको बचत रकम फिर्ता गर्न नसकेको, रकम अपचलन गरेको र सहकारी नै बन्द हुने अवस्था आएपछि प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी भएको छ । सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । बैंकिङ कसुरमा कात्तिक ४ गते पक्राउ परेका उनीहरु प्रहरी हिरासतमै छन् ।

कास्की प्रहरीले मंगलबार सूचना प्रकाशन गरी मित्रमिलन सहकारीविरुद्ध उजुरी भए २७ मंसिरभित्र दिन आग्रह गरेको छ । पोखरा ९, नयाँबजारस्थित सहकारीका सञ्चालक र केही व्यक्ति मिलेर २७ करोडभन्दा बढी हिनामिना भएको बताइन्छ ।

प्रहरीले सहकारीबाट बचत रकम फिर्ता नपाएका र जाहेरी दरखास्त दिन बाँकी रहेका मित्रमिलनका बचतकर्तालाई २७ मंसिरभित्र जाहेरी दिन आग्रह गरेको हो । प्रहरीको सूचनामा भनिएको छ, ‘उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाउनु भएको र यस कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहनुभएका पीडित बचतकर्ताहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानूनबमोजिम सहकारी ऐन शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरुमा सूचित गरिएको छ ।