एनसेलमा अर्बौं घोटाला भएको हुन सक्छः थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलमा अर्बौं घोटाला भएको छ भन्ने अनुमान लगाउन सकिने बताएका छन्।

कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै थापाले कानुनको दुरूपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने बताए।

‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ। केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’

कांग्रेस सम्मिलित सरकारले एनसेललगायतमा कानुनको दुरूपयोग भएको छ कि छैन हेर्नुपर्ने उनले बताए।

‘जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको होस्, यदि कुनै ठूलै नेताको सम्पत्ति कहीँकतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि जो(सुकै होस्, त्यसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ।’

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलरमा बिक्री गरेको बताएको थियो।