विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लब)सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।
राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ९ असोज २०७६ मा दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।

अभियोगपत्रमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नविन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो ।

उनीहरु फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरुलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो । १० मंसिरमा इजलासबाट भएको आदेश अनुसार जिल्ला अदालत प्रशासनले गोरखापत्रमा सूचना निकालेको हो ।