सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेको जनाए ।्
दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगी गरेको कसूरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतवाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखरावाट विज्ञ बोलाएर पनि अनुसन्धान भइरहेको छ ।
यसअघि दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।




