नेपाली भैंसीको नश्ल सुधारका लागि ल्याइएका मुर्रा राँगा अहिले क्वारेन्टिनमा राखिएका छन् । करिब एक महिना क्वारेन्टिनमा राखी स्वस्थ्य प्रमाणित भएपछि विर्य संकलन थालिने छ ।
यी मुर्राको विर्य(सिमोन) आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगाबाट चाडै विर्य उत्पादन सुरु गर्ने र देशैभरका किसानलाई उपलब्ध गराउने तयारी छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालमा शुक्रबार राति तीमध्ये सात राँगा ल्याइएको छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा.जगदीश पाण्डेले सुरुमा राँगालाई क्वारेन्टिनमा राखिएको जनाउँदै अब परीक्षण र विर्य उत्पादनको चरण पार गरी किसानसम्म नश्ल सुधारका लागि मुर्राको विर्य वैशाखबाट पठाउन सकिने जानकारी दिए ।
ल्याइएका १५ मध्ये बाँकी तीन राँगा लाहान र पाँच नेपालगञ्ज पठाइएको छ । शुक्रबार राति ल्याइएका राँगाहरुलाई फूलमालाले स्वागत गरिएको छ । एक महिनाको क्वारेन्टाइन अवधिमा कुनै रोग नदेखिएमा यी राँगालाई मूल गोठमा राखिनेछ । भारतबाटै निरोगिताको प्रमाणपत्र प्राप्त राँगा प्राप्त भए पनि बाटोमा सङ्क्रमण भएको हुन सक्ने भएकाले क्वारेन्टिनमा राखिएको हो ।
पुसबाट विर्य परीक्षणका लागि विर्य सङ्कलन गर्ने केन्द्रको तयारी छ । सङ्कलित विर्य प्रयोगशालामा जाँच गरी उपयुक्त प्रमाणित भएपछि मात्र देशका विभिन्न भागमा पठाइने डा पाण्डेले बताए । “हामीले देशका ३६ जिल्लामा उन्नत नश्लका विर्य पठाउँदै आएका छौँ । परीक्षणपछि विर्य सङ्कलन गरी मुर्राको विर्य वैशाखबाट देशका विभिन्न भागमा पठाउन सक्छौं,” उनी भन्छन् ।
यसरी ल्याइएका सबै राँगा दुईदेखि तीन वर्ष पूरा भएका छन् । सामान्तया अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ विर्य निकाल्न मिल्छ । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको छ ।
सबै कुरा राम्रो भो भने पुसबाट विर्य सङ्कलनको ट्रायल सुरु गरी माघबाट स्टोर गर्ने तयारी छ । हप्तामा दुई पटक विर्य सङ्कलन गर्ने गरिन्छ । नेपाली भैंसीले एक बेतमा एक हजार पाँच सय लिटर हाराहारी दूध दिन्छन् । मुर्रा भैंसीले भने एक बेतमा तीन हजारदेखि चार हजार पाँच सय लिटरसम्म दूध दिन्छन् ।




