एनसिडिए कास्की महासचिवमा मणिले उम्मेदवारी दिने

नेपाल औषधी व्यवसायी संघ(एनसिडिए) कास्कीको महासचिवमा हीरामणि(मणि) न्यौपानेले उम्मेदवारी दिने भएका छन् । कास्कीका औषधी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा जाने तयारीमा हुँदा मणिले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनााएका हुन् ।

पोखरा १३, मियाँपाटनमा रहेको नमस्ते फार्मेसियाका सञ्चालक मणि पोखरा उद्योग वाणिज्य संघको स्वास्थ्य उपसमिति सदस्य, एनसिडिए अतिरित्त क्रियाकलाप उपसमिति सदस्य, डिप्सानोका पूर्व केन्द्रीय महासचिव हुन् । उनी युआरएल हस्पिटलचोकका सञ्चालकसमेत हुन् ।

शुक्रबार र शनिबार पोखरामा हुने अधिवेशनका लागि मत माग्न व्यवसायीहरुसँग पुगिरहेका छन् । एनसिडिएमा हाल देशभर २३ हजार र कास्कीमा मात्र ५२३ सदस्य छन् । संस्थाको इतिहासलाई मनन गरी वर्तमानको प्रभावशाली संगठन बनाउन र भविष्यको नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्यसहित आफू मैदानमा आएको उनी बताउँछन् ।

औषधी खरिदमा मौलाएको अस्वस्थ छुटको नियन्त्रण गर्ने, औषधी व्यवसायीका संघ, संस्थासँग हातेमालो गरी एनसिडिएको नेतृत्वमा महासंघ बनाउन पहलकदमी लिने उनका एजेन्डा छन् ।

औषधीको खुद्रा, थोेक, सुपर, आयात, उत्पादक व्यवसायीबीच मजबुत सम्बन्ध स्थापित गर्नु आफ्नो अर्काे प्राथमिकता रहेको उनले सुनाए । मणि भन्छन्, फुड सप्लिमेन्टको बिगबिगी, एक्साएरी लगायतका समस्याको समाधान खोज्न र
सेन्ट्रल एपमार्फत् सबै व्यवसायीका समस्या, समाधान, नयाँ जानकारी आदानप्रदान गरी बलियो नेटवर्क बनाउन पनि पहलकदमी लिनेछु ।