गीता मन्दिर र होटल ल्यान्डमार्कमा सामूहिक भाइटीका लगाइने

फाइल फोटो: होटल संघले आयोजना गरेको कार्यक्रममा भाइटीकापछि खिचिएको सामूहिक तस्बिर ।

पोखरा महानगरको आयोजनामा सामूहिक भाइटीका कार्यक्रम हुन लागेको हो । पोखरा–११, रामघाटमा रहेको गीता मन्दिरमा कात्तिक २९ गते बुधबार भाइटीकाकै दिन कार्यक्रम हुनेछ ।

बिहान १०ः५१ देखि दिउँसो २ बजेसम्म आफ्ना दिदीबहिनीसँग टीका लगाउन नपाएका दाजुभाइहरुले यहाँ टीका लगाउन सक्नेछन् । पोखरा महानगरले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गेको हो । आवश्यक प्रबन्धका लागि कृष्ण केसीको संयोजकत्वमा उपसमिति बनाइएको छ भने यसपालि करिब एक सय जना दाजुभाइलाई तीन जना दिदीबहिनीले टीका लगाइदिने अनुमान छ ।

कार्यक्रमका लागि पोखरा महानगरको तर्फबाट समन्वय गरिरहनुभएका लोकदर्शन कोइरालाले उपचार, सरकारी सेवा, सुरक्षा निकाय र अन्य कारणले दाजुभाइ, दिदीबहिनी भेट हुन नसकेकाहरु पनि नछुटून भनी कार्यक्रम आयोजना गरिएको बताए ।

“सामूहिक भाइटीका ग्रहण गर्न सहभागी हुन हामी अनुरोध गर्छाै । ब्यारेक, सशस्त्र, गुम्बाहरु, सरकारी कार्यालयमा पत्राचार गरिसकिएको छ, बेलुकासम्म संख्या मागिएको छ । पहिलो पटक भएको कारणले एक सय जना जति हुन्छन् कि भन्ने छ,” उहाँले भन्नुभयो ।

सामाजिक व्यक्तित्व, स्वच्छ छवि भएका महिलालाई दिदीको रुपमा चयन गरी भाइटीका लगाउने जिम्मेवारी दिने तयारी छ । टीका लगाउँदा आवश्यक व्यस्थापन पोखरा महानगरले नै गर्ने छ ।

यसैगरी, “संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं” भन्ने नारा साथ होटल संघ पोखरा नेपालले पनि भाइटीकाकै दिन १६ औं भाइटिका महोत्सव २०८० आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल ल्यान्डमार्कमा यो महोत्सव हुन लागेको हो ।

संस्कृतिको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा अशा छर्न महोत्सव हुन लागेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । नेपाली संस्कृति संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुबिच आपसी भाइचाराको विकास गर्ने उद्देश्य महोत्सवले लिएको छ ।