पोखरा महानगरकै रेटमा विरौटामा फूल र माला बिक्री हुँदै

पोखरा १७ को किसान बजारमा शनिबारदेखि फूल र माला बिक्री भइरहेको छ । वडा स्तरीय कृषि सञ्जालले गरेका फूल खेतीबाट उत्पादित फूल र माला त्यहाँ महानगरले तोकेकै मूल्यमा बिक्री भइरहेका छन् ।

महानगरपालिकाले सयपत्री फूल र मालाको दररेटसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा मूल्य निर्धारण भएको हो । सयपत्री १५ देखि २० ग्रामको एक थुङ्गालाई पाँच रुपैयाँ, १० देखि १५ ग्रामका लाई चार रुपैयाँ र पाँचदेखि १० ग्रामको थुङ्गालाई दुई रुपैयाँ तोकिएको छ ।

मालाको मूल्य भने थुङ्गाको तौल अनुसार क्रमशः दुई सय, एक सय असी र एक सय पचास तोकिएको छ । प्रतिकेजी सयपत्री फूल भने चार सयमा बिक्री हुनेछ ।

करिब ५ सय केजी फूल यहाँबाट बिक्री गरिने सञ्जालका अध्यक्ष बैकुण्ठ भण्डारीले जनाए ।। “विरौटाको किसान बजारमा फूल र माला राखेका छौँ । इच्छुक उपभोक्तालाई महानगरकै दररेटमा उपलब्ध गराइरहेका छौं,” उनले भने । यो वर्ष फुस्रोखोलामा सानो परिणममा परीक्षणका रुपमा फूलखेती गरेको र आगामी वर्षदेखि अझ ठूलो परिणाममा खेती गर्ने जनाए ।

पोखरा १७ की वडाध्यक्ष राधिका शाहीले कृषि सञ्जालले सराहनीय काम गरेको जनाउँदै सबै वडाबासीलाई विरौटाको किसान बजार पुगेर फूल खरिद गर्न अनुरोध गरिन् । ‘वडाका सबै गतिविधिमा सञ्जालकै फूलले पुग्ने वातावरण निर्माण होस् भन्ने हामी चाहन्छौं । वडाको समग्र विकास, वडालाई समृद्ध र आत्मनिर्भर बनाउन लागिपरेका छौं, उनले भनिन् ।

पोखरा–४, चिप्लेढुङ्गामा रहेको श्री कम्प्लेक्स प्रालिभित्र शनिबारबाट सयपत्री प्रदर्शनी र रैथाने हाटबजार शनिबारदेखि जारी छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्सको साझेदारीमा भएको मेला चार दिनसम्म चल्नेछ ।

मेलामा स्थानीय कृषकसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको छ । सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको दाबी गरिएको छ । महानगरपालिकाले स्थानीय कृषकसँग साझेदारी गरी एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री लगाएको मनोहर कडरियाले जानकारी दिए ।

उनी भन्छन्, “यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।” महानगरले तोकेकै मूल्यमा फूल र माला पोखरा वडा नं। १०, १३, १५, र १९ का किसान बजार र पोखरा ३१ को कोट देउराली सहकारीमा समेत उपलब्ध छन् ।