पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती र फिर्केसँगै अर्काे खोला पनि छः बुलौदी । पोखरा–१८ को धारापानी जङ्गल, पोखरा–५ को ठूलीपोखरी(खँुडेपोखरी)सहित त्यस क्षेत्रका विभिन्न मूलबाट आएको पानी पोखरा–५ को मनकामना मन्दिरसम्म आईपुग्दा बुलौदीले खोलाको स्वरुप लिएको छ ।
फिर्केको बहाव क्षेत्र पहिचान गरी त्यहाँको अतिक्रमण हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ । बुलौदी खोलाको अतिक्रमणको अध्ययन र हटाउने प्रयास भने अझसम्म भएको छैन ।
पोखरा वडा नं. ५, ७ र ६ हुँदै बहने बुलौदी खोला मालपोत कार्यालयमाथि अन्नपूर्ण आधारभूत स्कुल छेउमा पुगेर फिर्केमा मिसिन्छ । फिर्के र बुलौदी मिसिएर बन्ने फिर्केखोला करिब डेढ किलोमिटर तल पुगेर फेवातालमा मिल्छ ।
धारापानी मुहानमा पिउने पानी थाप्न आउनेको भीड लाग्ने यो पानी फिर्केमा मिसिने बेलासम्म छुनै घीनलाग्दो बनेको छ । करिब तीन किमी बजार क्षेत्र हुँदै बग्ने यो खोला दोस्रो जनआन्दोलनपछि बढी अतिक्रमणको चपेटामा परेको पोखरा–५ का पूर्ववडाध्यक्ष धनबहादुर नेपालीको अनुभव छ । यसको अतिक्रमण हटाउन केही प्रयासमेत गर्नुभएको नेपालीले बारम्बार प्रयास गर्दा पनि सम्भव नभएको बताए ।
“बुलौदी पार्क बनाउने प्रक्रिया थाल्यौँ । पाँच घरले भन्दाभन्दै मिचेरै संरचना बनाए । पटक पटक भन्दा पनि रोक्दा सकिएन,” उनले भने । फिर्केखोला जस्तै बुलौदी खोलाको मापदण्ड पनि खोला छेउबाट १० मिटर हो । तर मुहानछेउबाट फिर्केमा मिल्ने ठाउँसम्मै यो खोला अतिक्रमित छ । अधिकारकर्मी रामबहादुर पौडेल बेलैमा ध्यान नपु¥याउँदा बुलौदी सबैतिर अतिक्रमित भई कुलोमा रुपान्तर भएको जनाउँछन् ।
“समयमै मापदण्डको खोजी भएन । अधिकांश ठाउँमा खोला अतिक्रमण भएको छ । कति, कहाँ अतिक्रमण भएको छ भन्ने यो खोलाको अध्ययन नै अहिलेसम्म भएको छैन,” उनी भन्छन् ।

स्थानीयले खोला मिचेर यसलाई कुलोजस्तै बनाएका छन् । चार दर्जनभन्दा बढी घरका पिल्लर खोलबाटै उठाइएको देखिन्छ । खोलामाथि स्ल्याब हालेर बाटो निकालेका छन् । यतिमात्र होइन, ती घरले प्रयोग भएको फोहोर पानीसमेत त्यही खोलामा फाल्ने गरेका छन् । स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा खोलाले सार्वजनिक जग्गा रहेको अर्काे क्षेत्रतिर कटान गरेकोसमेत देख्न सकिन्छ ।
कतिपय व्यवसायीले खोला मिचेर संरचना बनाउनेमात्र होइन, त्यसको फोहोरसमेत खोलामै फालेको देखिन्छ । केही सामुदायिक भवनसमेत खोलाकै क्षेत्रमा बनेका छन् । महानगरका प्रमुख धनराज आचार्य आफूले फिर्के र बुलौदीलाई एकै अभियानमा समावेश गरेको बताउँछन् ।
“फिर्केको अतिक्रमण हटाउनेबित्तिकै बुलौदीको अतिक्रमण हटाउन लाग्छौँ । यताको मापदण्ड उता पनि लागू हुन्छ,” प्रमुख आचार्यले भने ।




