सयपत्री प्रदर्शनी र रैथाने हाटबजार सुरु

पोखरा–४, चिप्लेढुङ्गामा रहेको श्री कम्प्लेक्स प्रालिभित्र शनिबारबाट सयपत्री प्रदर्शनी र रैथाने हाटबजार सुरु भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्सको साझेदारीमा भएको मेला चार दिनसम्म चल्नेछ ।

पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गरिएको छ । हाटबजार शनिबार महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरे ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले हाटबजारमा स्थानीय उत्पादनका १० स्टल रहने जानकारी दिए । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा राखिएका छन् ।

यस्तै, पुष्पाञ्जलीद्धारा तयार गरिएका विवाहका लागि चाहिने सामान (सइपाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं.६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री बिक्रीमा छन् ।

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिएको कडरियाले जानकारी दिनुभयो । सँगै सयपत्री फूल मेला २०८० समेत हुँदै छ ।

पहिलो दिन स्थानीय उत्पादन प्रवद्र्धनसम्बन्धी देउसी भैलो गीत प्रतिस्पर्धा, पूmल, माला प्रदर्शनी, दोस्रो दिन २६ गते स्थानीय उत्पादन केन्द्रित सवाल तथा छलफल, २७ गते माला तयारी प्रतिस्पर्धा र कात्तिक २८ गते प्रदर्शनीसहित माला, फूल र अरु रैथाने सामग्री बिक्री गरिनेछ ।

मेलामा स्थानीय कृषकसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको छ । सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको दाबी गरिएको छ । महानगरपालिकाले स्थानीय कृषकसँग साझेदारी गरी एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री लगाएको कडरियाले जानकारी दिए । उनी भन्छन्, “यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।”

महानगरपालिकाले सयपत्री फूल र मालाको दररेटसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा मूल्य निर्धारण भएको हो । सयपत्री १५ देखि २० ग्रामको एक थुङ्गालाई पाँच रुपैयाँ,, १० देखि १५ ग्रामका लाई चार रुपैयाँ र पाँचदेखि १० ग्रामको थुङ्गालाई दुई रुपैयाँ तोकिएको छ ।

मालाको मूल्य भने थुङ्गाको तौल अनुसार क्रमशः दुई सय, एक सय असी र एक सय पचास तोकिएको छ । प्रतिकेजी सयपत्री फूल भने चार सयमा बिक्री हुनेछ । महानगरले तोकेकै मूल्यमा फूल र माला पोखरा वडा नं. १०, १३, १५, १७ र १९ का किसान बजार र पोखरा ३१ को कोट देउराली सहकारीमा समेत उपलब्ध हुने छन् ।