पोखरा–मग्लिन सडक चाडै सक्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाले पोखरा मुग्लिन सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

सोही योजनाअन्तर्गत शनिबार बिहान पोखराको पृथ्वीचोकमा बन्न लागेका दुई सिग्नेचर पुल शिलान्यास गर्दै उनले मन्त्रालयको सिङ्गोले यो सडकको काम हेर्ने र आवश्यक निर्णय गर्ने उल्लेख गरे ।

“यो सडकको काममा भएको ढिलाइ र जनताको गुनासोबारे जानकार छौँ । म सम्बन्धित निर्माण कम्पनीसहित सरोकारवाला सबैलाई काम समयमै सक्न निर्देशन दिन्छु,” उनले भने । मन्त्री ज्वालाले पोखरा मुग्लिन सडकमा रहेका अवरोध हटाउने प्रतिवद्धतासमेत जनाए ।

उनले पोखराको पर्यटकीय सम्भावनालाई सरकारले उजागर गर्न खोजेको जनाए । “पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न म आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने वाचासमेत गर्दछु,” उनले भने ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले शिलान्यस समारोहको उत्साह आयोजना निर्माणदेखि उद्घाटनसम्म कायम रहनुपर्नेमा जोड दिए । “पोखरा मुग्लिन र मध्यपहाडी राजमार्ग दुवैको काम सुस्त हुँदा यो क्षेत्रमा निकै सकस छ । पोखरा मुग्लिन सडकको अर्काे बाइपाससमेत नहुँदा यहाँको पर्यटनसहित सबै क्षेत्र प्रभावित भएका छन्,” उनी भन्छन् ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा स्थानीयको अवरोध नहुने प्रतिवद्धता गर्दै केही समस्या आए तत्काल सुल्झाइने सुनाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सेतीमा बग्ने सिग्नेचर पुलले पोखराको सुन्दरता थप बढाउने विचार राखे ।

हरेक दिन कार्यालय सुरु हुने र बिदा हुने समयमा पुल साँघुरो भएकैले पृथ्वीचोकमा ट्राफिक जाम हुने गरेको छ । यो समस्या सुल्झाउन यहाँ एकैसाथ डबल लेनका दुई पुल बन्न लागेका हुन् । पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सनका इन्जिनियर सुदर्शन देवकोटाले खोंच भएकाले जमिनको अध्ययनमा थप समय लागेको जनाउँदै कुनै अवरोध नआए समयमै पुल बनिसक्ने बताए । एक सय ४० मिटरका स्पाम, २५÷२५ मिटर फुटपाथसहितका १९० मिटरका पुल बन्ने छन् ।

पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा बन्ने आकर्षक ‘सिग्नेचर’ पुल एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत् एक अर्ब १५ करोडमा बन्न लागेको हो । एसियाली विकास बैंकको सहयोगमा पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार भइरहेको छ । सोही आयोजनाअन्तर्गत यहाँ पुल बन्न लागेको हो ।