पोखरा–२०, भलाममा रहेको श्रृङ्खला क्लबले आयोजना गरेको खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि तारा एफसी पोखरा ११ ले जितेको छ । ताराले १ लाख ३१ हजार १ एक सय २१ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाएको छ ।
दोस्रो बनेको लामा गाउँ गुम्बा बिले ६५ हजार १ सय ६१ का साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । शनिबार भएको फाइनलमा निर्धारित समयमा गोल नभएपछि ट्राइबेकरबाट खेलको छिनोफानो भएको हो ।
प्रतियोगितामा ताराका विश्व थापा म्यान अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ता सन्जोग गौतम (शंखला क्लब) ठहरिए । कार्यक्रममा प्रदेशसभा सदस्य विन्दुकुमार थापाले खेलकुदले अनुशासन र सभ्यता सिकाउने उल्लेख गरे । उनले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण र ख्याति आर्जनसमेत हुन सक्ने भएकाले यो क्षेत्रमा युवाको आकर्षणलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे ।
कात्तिक १८ गतेबाट जारी खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा ३४ टिम सहभागी थिए । ‘हाम्रो भलाम, राम्रो भलाम’ भन्ने उद्घोषका साथ क्रियाशील क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको यो आठौं शृंखला हो ।

क्लब अध्यक्ष दिनेश बस्नेतले खेलमार्फत सामाजिक विकास र समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए । उनले यसले स्थानीय प्रतिभालाई अघि बढाउन सघाउने र युवाबीच भाइचारा बढाउन प्रतियोगिताले उल्लेख्य भूमिका निर्वाह गरेको सुनाए ।
कार्यक्रममा आठौं सेभेन ए साइड प्रतियोगिता संयोजक मीनबहादुर थापा, पोखरा २० की वडा सदस्य रुपा नेपाली, हरिहर भक्ति आमा समूहकी सचिव मिना कुँवर, लायन्स क्लब अफ् अञ्जुलीकी अमृतशोभा खत्री, शंखला क्लबका सचिव हरिष थापा लगायतले बोलेका थिए ।
प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति बनाइएको थियो । निर्मल खत्रीको संयोजकत्वमा अर्थ संकलन उपसमिति, रमेश केसीको संयोजकत्वमा खेलकुद व्यवस्थापन उपसमिति, रामकाजी गौतमको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, मोहन रावलको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, रविबहादुर लामिछानेको संयोजकत्वमा प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमिति, नारायण बास्तोलाको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, हरिश थापाको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि काम गरेका थिए ।

२०४३ मा स्थापना भएको शृंखला क्लब २०७२ मा शृंखला क्लबमा परिणत भएको हो । क्लबले खेलकुदसहित विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ ।






