
गण्डकी सरकारले २५ पालिकामा खेल मैदान बनाउन सघाउने भएको छ । प्रदेशका ८५ पालिकामध्ये छानिएका २५ पालिकामा ‘एक पालिका, एक खेल मैदान’को अवधारणामा प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सहयोग गर्न लागेको हो ।
मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले पालिकाहरुले खेलमैदान बनाउने प्रस्ताव मङ्सिर १७ गतेभित्र पेश गर्नुपर्ने दिए । उनी भन्छन्, “पालिकाभित्र धेरै खेलमैदान हुन सक्छन्, पालिकाहरुले मुख्य खेल मैदान छानेर त्यसलाई स्तरोन्नति गर्न सक्छन् भने नयाँ मैदान बनाउन पनि सक्छन् ।”
यसका लागि मन्त्रालयले यो आर्थिक वर्षका लागि चार करोड विनियोजन गरेको छ । कास्कीमा पोखरा महानगरपालिका र अरु चार गाँउपालिका छन् । महानगरभित्र व्यवस्थित तीन खेल मैदान छन् । भण्डारढीक खेलमैदानमा बहुउद्देश्यीय कभर्ड हल बजेटकै अभावमा अलपत्र छ भने गोस्ते खेल मैदानको काम पनि अपूर्ण छ ।
रुपा गाउँपालिकामा वडापिच्छे भलिबल कोर्ट छन् । पालिका अध्यक्ष नवराज ओझा वडा नम्बर ५ मा रहेको खेलमैदानलाई मुख्य खेल मैदान बनाउने गरी प्रस्ताव पेश गरिने बताउँछन् । माछापुच्छ« गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले सबै वडामा भलिबल कोर्ट रहे पनि व्यवस्थित खेल मैदानको रुपमा वडा नं. ४ लाहाचोकको मैदानलाई विकास गरिने उल्लेख गरे ।
यता, अन्नपूर्ण गाउँपालिकाले काँडे खेलमैदानलाई पूर्णता दिने योजना बनाएको छ । अध्यक्ष विष्णुबहादुर केसी त्यहाँको जमिन सम्याउन १२ लाख रुपैयाँ खर्च भइसकेको सुनाए ।
कास्कीकै मादी गाँउपालिका अहिले भलिबल कोर्टसहितको सेभेन ए साइडको खेल मैदान बनाउँदै छ । १७ रोपनीमा बन्दै गरेको मैदनका लागि एक करोड खर्च भइसकेको पालिका अध्यक्ष देवीजङ्ग गुरुङले उल्लेख गरे । “हामी मादी खेल मैदानलाई पूर्णता दिन्छौं । परिषदले दिने रकम त्यसैमा खर्च गर्छौं,” उनी भन्छन् ।
पोखराबाहेक अरु पालिकामा खेलकुद मैदानका लागि फराकिलो जग्गा छैन । सङ्घीयतापछि पालिकाहरुले राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्दै आएका छन् ।